वेबटिभी खबर
सर्लाही । इन्द्रजात्रा काठमाडौंमा मात्र नभई मधेसको जिल्ला सर्लाहीमा पनि भव्यताका साथ मनाइन्छ भन्दा अचम्म लाग्न सक्छ । तर सर्लाहीको बागमती नगरपालिका वडा ८ को सोल्टीमा हरेक वर्ष भव्यरुपमा याे पर्व मनाइने गरिन्छ ।
४९ औँ इन्द्रजात्रा मेला शुक्रबार साँझ एक कार्यक्रमका बीच बागमती नगरपालिकाको सोल्टी बजारमा उद्घाटन भएको छ । इन्द्रजात्रा मेला महोत्वसको पूर्वसांसद एवं समाजसेवी नरेन्द्र साहले भव्य कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै समाजसेवी साहले आफु पदमा रहे पनि नरहेपनि समाजसेवाको काममा निरन्तर लागि रहने प्रतिबद्धता समेत जनाए ।
‘मैले भ्याए जति सहयोग गर्नेछु कसैलाइ कहिले पनि निरास बनाउने छैन’, प्रमुख अतिथिको आशनबाट बोल्दै समाजसेवी साहले भने, ‘मैले आफ्नो ठाउँको विकासका लागि हिजोका दिनमा पनि गरेकै हो, आजपनि गर्दै छु र भोलीपनि गरिरहन्छु ।’ उनले आफ्नो परम्परा, धर्म, संस्कृतीलाई जोगाउने कुरामा सबैले एकअर्कालाई सहयोग गरेर देशलाई सांस्कृतीक रुपमा सम्पन्न बनाउनु पर्ने पनि बताए ।
पूर्व सांसद साहको प्रमुख आतिथ्यतामा भएको उदघाटन समारोहमा बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान, वडा नम्बर ८ का अध्यक्ष डम्बर बहादुर कार्की, ७ का अध्यक्ष दुर्गाबहादुर हेन्जन, ईलाका प्रहरी कार्यलय बरहथवाका डिएसपी मकेन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो ।

सोल्टीमा हरेक वर्ष इन्द्रजात्रा महोत्सव हुँदै आएको छ । यस वर्ष तीन दिनसम्म निरन्तर मेला आयोजना हुने आयोजक सोल्टी युवा क्लवले जनाएको छ ।
उद्घाटन लगत्तै पहिलो दिन राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । गायक प्रकाश सपुत, गायिका रजिना रिमाल, क्रान्तिकारी गायक चेतन सापकोटा लगायतले आफ्नो प्रस्तुती राखेका थिए ।
शनिबार आर्केष्ट्रा र अन्तिम दिन आइतबार कुस्ती प्रतियोगिता हुने कार्यक्रम छ । आइतबार साँझ प्रदेश स्तरिय खुल्ला नृत्य प्रतियोगिता संचालन हुने आयोजक क्लवले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुनेलाई क्रमशः ५१ हजार, ३१ हजार र ५१ हजार नगदसहित प्रमाणपत्र र मेडल दिने कार्यक्रम छ । सान्त्वन पुरस्कारमा ५१ सय नगदसहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij