Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

डेंगु ज्वरोको संक्रमणका कारण सिटामोलकाे उच्च माग

डेंगु ज्वरोको संक्रमणका कारण सिटामोलकाे उच्च माग

  • 672
    SHARES
  • डेंगु ज्वरोको संक्रमणका कारण सिटामोलकाे उच्च माग

    काठमाडौं । नेपालमा डेंगु ज्वरोको संक्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक संघले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा सर्वसाधारणले पाइरहेका छैनन् ।

    उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् ।

    ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर बजारमा सिटामोलको अभाव भएको जनाइएको छ । काठमाडौं उपत्यका लगायत देशका अन्य जिल्लामा दैनिक डेंगुका बिरामी बढिरहेका छन् ।

    अहिलेसम्म ६ हजारभन्दा बढीमा डेंगु संक्रमण भइसकेको मन्त्रालयले जनाएको छ । डेंगुका प्रकोप बढ्न थालेपछि सर्वसाधारणले पनि घरमा सिटामोल किनेर राख्ने गरेका छन् । यसले पनि सिटामोलको अभाव भएको बताइएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार मण्डलले बजारमा सिटामोलको अभाव नभएको बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा.श्रवणकुमार मण्डलले डेंगुका बिरामीलाई उच्च ज्वरो आउने र ज्वरो कम गर्नका लागि सिटामोल खानु पर्ने बताए ।

    ज्वरोका बिरामी धेरै बढेकाले सिटामोलको माग बढेर अभाव भएको हुन सक्ने उनको भनाइ छ । नेपाल औषधि व्यवस्था विभागका निर्देशक भरत भट्टराईले सिटामोल पाइएन भन्ने गुनासो सुनेको जानकारी दिए ।

    ‘डेंगु बढेसँगै एक/दुई दिन अघि मात्र जनताले सिटामोल पाइनन् भन्ने सुनेको छु’, उनले भने, ‘सिटामोलको अवस्था के हो भन्नका लागि औषधि उत्पादक संघलाई आइतबार बोलाएर छलफल गर्ने छु ।’ उनले संकटको बेला औषधिको मूल्य बढाउनका लागि अभाव सिर्जना गर्न थालिएको हुन सक्ने बताए ।

    उनले महामारीको बेला सिटामोल जस्तौ औषधिको अभाव हुन नदिने स्पष्ट पारे । उनले औषधि उत्पादक संघलाई बोलाएर तत्काल सिटामोल उत्पादन गर्न निर्देशन दिने बताए ।

    नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल डेंगुको संक्रमण बढ्न थालेपछि सिटामोल औषधि बनाउनका लागि कच्चा पदार्थ आयात गर्न थालेको बताए ।

    उनले हप्ता दिनभित्रमा कच्चा पदार्थ आउने र त्यसपछि सिटामोल औषधि उत्पादन गर्ने जानकारी दिए । उनका अनुसार  करिब ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्नका लागि कच्चा पदार्थ ल्याउन थालिएको छ ।

    अहिले औषधि लिमिटेडसँग करिब १५ लाख ट्याबलेट मौज्दात रहेको उनको भनाइ छ । संघका उपाध्यक्ष सन्तोष बरालले बजारमा सुनेको जस्तो सिटामोलको  अभाव नभएको बताए ।

    ‘मैले पनि बजारमा अभाव छ भन्ने सुनेको छु तर त्यस्तो सारै अभाव छैन । हामीले उत्पादन गर्दै आइरहेका छौँ’, उनले भने । उनका अनुसार नेपालमा वार्षिक १० करोड ट्याबलेट सिटामोलको माग  माग रहेको छ । संघले भने वार्षिक पाँचदेखि साढे पाँच करोड ट्याबलेट उत्पादन गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij