वेबटिभी खबर
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताएकी छिन् ।
जलाशययुक्त आयोजना रणनीतिक तवरले अगाडि बढाउने बताउँदै उनले पानीको अधिकारका विषयमा कुनै आशंका नगर्न आग्रहसमेत गरिन् ।
जलस्रोत विकास संस्थाले जलविद्युतको विकासका रणनीतिक आयामबारे बिहीबार आयोजना गरेको छलफलमा मन्त्री भुसालले भनिन्, ‘पानीको तल्लो तटीय अधिकारको विषयलाई कसैले पनि छोडेको छैन । पानीको हरेक अधिकारका लागि हामी सचेत छौँ । यसमा कसैले पनि शंका नगरौँ ।’
सबै राजनीतिक दल र जलस्रोत क्षेत्रका जानकारहरू एक भएर देशको हितमा लाग्नुपर्नेमा उनको भनाइ छ । देश र जनताको हितमा लाग्नुपर्ने र अरुलाई औँला ठड्याएर आफू मात्र राष्ट्रवादी बन्ने संस्कार त्याग्न जरूरी रहेको उनको भनाइ छ ।
मन्त्री भुसालले लगानी बोर्डले अगाडि बढाएको पश्चिमसेती र एसआर–६ आयोजना निश्चित समयभित्र मुख्य कार्यहरू सम्पन्न गर्नुपर्ने समयसीमासहित अध्ययनका लागि मात्र समझदारी गरिएको स्पष्ट पारिन ।
निरन्तर बगेर गएको पानी प्रयोग गरेर देशको ऊर्जा आवश्यकतालाई पूरा गर्ने र बढी भएको विद्युत् बिक्री गरेर विदेशी मुद्रा आम्दानी गर्न सकिने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले देशको व्यापारघाटा कम गर्न सक्ने विश्वासिलो क्षेत्र भनेकै ऊर्जा रहेको बताइन् ।
प्राकृतिक स्रोतको अधिकतम सदुपयोग हुने गरि पछिल्लो समय आर्थिक तथा प्राविधिक विषयलाई समेत विश्लेषण गरेर केही नीति परिवर्तन गरिएको उनले बताइन् ।
उनले भनिन्, ‘विद्युत विकासका लागि नदी प्रवाहीमा आधारित आयोजनाको लाइसेन्स लगभग सकिएको छ । ६ हजार ४०० मेगावाटको विद्युत् खरिद सम्झौता भएको छ । हरेक थोपा पानी बिजुलीको यूनिट हो भन्ने मान्यताका साथ देशको साधन र स्रोतको अधिकतम प्रयोग गर्नुपर्छ । त्यसैले पछिल्लो पटक हामीले डिजाइन डिस्चार्जमा कायम गरीएको सीमा खुला गर्ने (क्यू फ्रि) नीति लिएका छौँ ।’
वर्षातमा विद्युत खेर जाने र हिउँदमा भारतबाट आयात गर्नुपर्ने अवस्था अझै कायम रहेको उल्लेख गर्दै मन्त्री भुसालले आफूले ऊर्जा मन्त्रालय संहालेपछि ऊर्जा सुरक्षा र गुणस्तरीय विद्युतका लागि जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राखेको बताइन् ।
कुलेखानी बाहेक अरु जलाशययुक्त आयोजना नभएको बताउँदै उनले निरन्तरको प्रयासपछि दूधकोशी आयोजना निर्माणको अन्तिम तयारी रहेको जनाकरी दिइन् । लोड सेन्टरमा रहेको बुढीगण्डकी १ हजार २०० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ ।
कार्यक्रममा नेकपा (एमाले)का नेता डा.भीम रावलले देशको साधनस्रोतलाई राज्यको हितमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनीले भारतलाई बिजुलीभन्दा पनि सिंचाइका लागि पानी आवश्यकता रहेको उल्लेख गर्दै त्यस विषयमा नेपालले गहिरो अध्ययन गरेर फाइदा लिनुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij