वेबटिभी खबर
काठमाडौं । नेपाल आयल निगमले पाइप लाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (ट्यांकी) निर्माणको काम अघि बढाएको छ ।
हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म पाइपलाइनमार्फत डिजेल मात्र आयात गर्दै आएको थियो ।
निगमले अब भने उक्त पाइपलाइनबाटै पेट्रोलसमेत आयात गर्न निगमको अमलेखगञ्जस्थित डिपो परिसरमा दुई वटा भण्डारण ट्यांकी निर्माणको कामअघि बढाएको हो ।
जसका लागि भारतीय आयल कर्पोरेसनले पेट्रोल भण्डारण गृह निर्माणका लागि आवश्यक ठेक्का प्रक्रिया पूरा गरिसकेकाले आगामी दसैँपछि भण्डारण गृह निर्माण काम सुरु हुने अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर प्रदीप यादवले जानकारी दिए ।
हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म करिब ६९ किमी लामो पाइपलाइनमार्फत डिजेल आयात गर्दै आएको छ ।
अब निर्माण हुने पेट्रोल भण्डारण गृह (ट्यांकी) मध्ये प्रतिट्यांकी ४ हजार १०० किलोलिटर क्षमताको हुनेछन् ।
नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दु अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल आयात गर्न थप सहज हुनेछ ।
पेट्रोल संकलन गर्ने दुई वटा भण्डारण ट्यांकी निर्माणपश्चात् निगमलाई पेट्रोल आयातमा प्रतिलिटर करिब एक रूपैयाँ ५० पैसा ढुवानी खर्च सस्तो पर्ने आँकलन गरिएको आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।
करिब ३ अर्ब २६ करोडको लागतमा निर्माण हुने दुईवटा पेट्रोल भण्डारण ट्यांकी निर्माणको कार्य आगामी सन् २०२४ को जनवरीसम्म सम्पन्न हुने लक्ष्य रहेको छ ।
हाल मोतिहारीदेखि अमलेखगञ्जसम्म करिब ६९ किलोमिटर लामो पाइपलाइनबाट प्रतिघण्टा २ लाख ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ ।
तर पेट्रोलका लागि भारतबाट ट्यांकरमार्फत आयात भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij