वेबटिभी खबर
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–११ हिरापुरस्थित विश्वेश्वर महादेव मन्दिर परिसरमा बन्न लागेको धर्मशाला भवन शिलान्यास कार्यक्रममा स्थानीय एमाले कार्यकर्ताले अवरोध गर्ने प्रयास असफल भएकाे छ ।
सोही वडाका वडाध्यक्षसहितले राखेको शिलान्यास कार्यक्रममा बुधबार एमालेका कार्यकर्ताले विवाद झिकेर अवरोध गर्न खोजेका थिए । वडाध्यक्ष नवराज राईले सोही ठाउँका पूर्वसांसद नरेन्द्र साहले शिलान्यास गरिरहेका बेला एमाले कार्यकर्ताले बखेडा खडा गर्न खोजेको बताए ।
‘धर्मशाला भवन बनाउन बजेट राख्न सहयोग गर्ने पूर्वसांसद नरेन्द्र साहले शिलान्यास गरिरहेका बेला एमालेका केही कार्यकर्ता आएर शिलान्यासस्थलमा राखिएको झण्डाहरु उखल्ने र विवाद झिक्ने प्रयास गरे,’ उनले भने, ‘विकासको काम हुँदै गर्दा एमालेका कार्यकर्ताले विवाद गरेपछि झडपको अवस्था आएको थियो । स्थानीय आक्रोसित भएर प्रतिकार गर्न खोजेका थिए । तर, पूर्वसांसद साहको प्रयासमा विवाद साम्य भयो ।’

हिरापुरमा विकास गुरुयोजना अन्तर्गत ठूलो स्टेडिमयलगायत करोडौंको भौतिक पूर्वाधार बन्दैछ । पूर्वसांसद साहको सक्रियतमा सो योजनाका लागि बजेट विनियोजन भएकाले उनैको हातबाट वडाध्यक्षले शिलान्यास कार्यक्रम राखेका थिए । गाउँले एकजुट भएर विकास गाउँमा आएको भन्दै खुसी भएका बेला एमालेका ज्ञानबहादुर बस्नेतलगायतले विवादको प्रयास गरेको राईले बताए ।
ज्ञानबहादुरका भाई ओमराज सोही वडामा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार भई पराजित भएका थिए । राईले कांग्रेसबाट जितेका हुन् । शिलान्यास कार्यक्रम गर्दा एमालेसँग सल्लाह नगरेको भन्दै विथोल्ने प्रयास गरिएको स्थानीयले बताएका छन् ।
विकासको काममा एमालेबाट अवरोध गर्ने काम भएको भन्दै स्थानीय आक्रोसित भएका थिए । पूर्वसांसद साहले सम्यमता अपनाउन आग्रह गर्दै विवाद बढ्न दिएका थिएनन् । वडाध्यक्ष राईले स्थानीय प्रतिकारका लागि तयार भए पनि पूर्वसांसद साहले सबैलाई सम्यम हुन आग्रह गरेकाले झडप हुनबाट रोकिएको बताए ।
शिलान्यास सकिने बेलातिर विवाद गर्ने प्रयास भए पनि असफल भएको राईले उल्लेख गरे । शिलान्यास स्थलमा गाडिएको झण्डाहरुसमेत उखेलिएपछि विकास विरोधी भन्दै एमालेका कार्यकर्ताविरुद्ध स्थानीय प्रतिकार गर्न तम्सिएका थिए ।
पूर्वसांसद साह गत चुनावमा सर्लाही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । त्यसयता साे क्षेत्रमा निरन्तर सामाजिक कार्यमा साह सक्रिय छन् । पुनः साह साेही क्षेत्रबाट चुनाव लड्नसक्ने भएकाले एमाले उनीसँग एमाले आत्तिएकाे हुनसक्ने स्थानीय बताउँछन् । 'साहले विकासकाे काम गर्दा आफ्नाे भाेट भड्किन्छ भनेर एमाले डराएकाे हुनसक्छ,' एक स्थानीयले भने, 'हामी आम जनता विकास चाहन्छाैं । हामीले विकास गर्नेकाे पक्षमा हुन्छाैं, विकास भाँड्न खाेज्नेका पक्षमा हुँदैनाैं ।'
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij