वेबटिभी खबर
काठमाडौं । प्राय: हँसिलो र फरासिलो मुद्रामा देखिने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो राजनीतक विषयबस्तुमा ‘दो टुक’ टिप्पणी गरेर प्राय: चर्चामा रहन्छन् ।
अरूभन्दा फरक देखिने उनको सदावहार पोसाक, बोल्ने रोचक शैली, धेरै नघुमाइ गर्ने दो टुक टिप्पणीका कारण उनका समर्थक र विरोधी दुबैको मस्तिष्कमा उनले छाप छाडेका छन् ।
आसन्न निर्वाचन, गठबन्धनका कुरा र नागरिकता विधेयकजस्ता विषयले अहिले चर्चा पाइरहेका बेला महतो भने मौन छन् । उनका दो टुक टिप्पणी अहिले खासै सुन्नमा आएको छैन ।
सर्लाही घर भएका महतोले अघिल्लो चुनावमा कांग्रेसका ठूला नेता बिमलेन्द्र निधिलाई उनकै निर्वाचन क्षेत्र धनुषा ३ मा पराजित गरे । यसले महतोको उचाई बढायो भने निधिलाई ठूलो धक्का लाग्यो । बाहिरबाट चुनावका बेला धनुषा पुगेर उम्मेदवारी दिएका महतोको जितले उनको मधेसमा लोकप्रियता सावित भयो भने निधि आफ्नै ठाउँमा क्रमशः अलोकप्रिय भएको देखियो ।
सानातिना घटनामा पनि खुलेर टिप्पणी गर्ने, सञ्चारमाध्यमको सहज पहुँचमा बस्ने नेता महतो पछिल्लो समय भने खुलेका छैनन् । आसन्न चुनावका लागि गठबन्धनलगायतका कुरामा महतोले खुलेर प्रतिक्रिया दिएका छैनन् । महतो आबद्ध दल लोसपा पनि सत्तारुढ गठबन्धनमा आउने, सरकारमा सहभागी हुने, गठबन्धनबाट चुनाव लड्ने चर्चा चलिरहेको छ । यति हुँदा पनि महतो भने केही बोलिरहेका छैनन् ।
महतो यसपटक धनुषाबाटै चुनाव लड्छन कि गृहजिल्ला सलाही फर्कन्छन् भन्ने स्पष्ट भइसकेको छैन । गठबन्धन भयो भने महतोका लागि जता गए पनि वातावरण अनुकुल बन्छ । तर लोसपा गठबन्धनमा नआएको खण्डमा भने उनले चुनाव लड्नका लागि तय गर्ने निर्वाचन क्षेत्रले धेरै अर्थ राख्छ । धनुषामै चुनाव लडे फेरि निधिलाई संकट खडा हुन्छ भने सर्लाही आउँदा हाल डा.बाबुराम भट्टराईसँग रहेका नेता महेन्द्र राय यादवलाई अफ्ट्यारो बनाउँछन् । महतो सर्लाहीबाट चुनाव लड्दा क्षेत्र १ वा २ बाट लड्ने संभावना रहन्छ ।
कांग्रेस नेता बिमलेन्द्र निधि लोसपालाई गठबन्धनमा ल्याउन चाहन्छन् । तर हाल गठबन्धनमा रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनमा लोसपा रोक्न चाहन्छन् । यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहयोग लिएर लोसपालाई गठबन्धनमा आउन नदिन प्रयास गरिरहेका छन् ।
महतो निकटस्थका अनुसार हाल उनी प्रतिक्रिया दिने मुडमा छैनन् । गठबन्धनको विषय नटुंगिएसम्म उनी सार्वजनिक अभिव्यक्ति नदिने गरी बसेका छन् । केही दिन अझै सञ्चारमाध्यममा बोल्नु हुन्न महतो निकट स्रोत भन्यो । उनका अनुसार महतोले 'अहिले बोल्ने बेला भएको छैन, बोल्नै पर्ने विषय छन तर केही दिन पर्खौं' भन्ने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij