वेबटिभी खबर
नयाँ दिल्ली । भारतले मार्च महिनामा भेटिएको स्थानीय भेरिएन्टको कारण दोस्रो लहर भयावह भएर फैलिएको बताएको छ । त्यहाँ तीव्र संक्रमण बढिरहेको एक दर्जन राज्यमा कोरोनाको दोहोरो उत्परिवर्तित भेरिएन्ट वा बि वान सिक्स वान सेभेन भेरिएन्ट फैलिएको पाइएको छ ।
नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका एक अधिकारीका अनुसार अझै पनि बढिरहेको संक्रमण र नयाँ उत्परिवर्तित भाइरसबीचको सहसम्बन्ध पूर्ण रुपमा स्थापित नभएको बताएका छन् । दुई वटा उत्परिवर्तित भाइरस मिलेर दोहोरो उत्परिवर्तित भेरिएन्ट बनेको हुन्छ ।
बिहीबार भारतमा चार लाख १४ हजार बढी संक्रमित भेटिएका छन् भने तीन हजार नौ सयको मृत्यु भएको छ । सरकार वरिष्ठ वैज्ञानिक सल्लाहाकारले पनि भारतमा तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयको प्रेस सम्मेलनमा वैज्ञानिक के. विजयराघवनले जुन किसिमले दोस्रो लहर फैलिएको छ, त्यो अवस्था हेर्दा तेस्रो लहरलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले तेस्रो लहरको संक्रमणविरुद्ध तयार रहन आवश्यक रहेको बताएका छन् ।
अहिले भारतमा कोरोनाले डरलाग्दो स्थिति बनाएको छ । स्वास्थ्य व्यवस्था पूर्ण रुपमा घरमराएको छ । अस्पतालमा बेड र अक्सिजनको अभाव छ । विपक्षी दलका नेतासहित भाइरोलजिस्टले देशभर लकडाउन लागू गर्न सल्लाह दिएका छन् ।
आठ राज्यबाट लिएका करिब १३ हजार नमुना सिक्वेन्स गर्दा तीन हजार पाँच सयभन्दा धेरै नमुनामा उत्परिवर्तित भाइरस बि वान सिक्स वान सेभेन भेटिएको छ ।
बि वान सिक्न वान सेभेन भेरिएन्ट गुजरात, महाराष्ट्र, पश्चिम बंगाल, कर्नाटक, छत्तीसगढजस्ता राज्यबाट लिइएको नमुनामा भेटिएको छ र संक्रमण दर अन्य राज्यको तुलनामा यी क्षेत्रमा बढी छ ।
गत एक महिनादेखि भारतले नयाँ भेरिएन्ट र बढ्दो संक्रमणबीचको सम्बन्ध अस्वीकार गर्दै आइरहेको थियो । अहिले केन्द्र सरकारले भारतका संक्रमण अत्यधिक बढ्नुको कारण भारतमै भेटिएको म्युटेन्ट भेरिएन्ट हुन सक्ने सम्भावना रहेको स्वीकारेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij