Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

रेल सेवाको क्षमता कम हुँदा यात्रुको चाप उच्च

रेल सेवाको क्षमता कम हुँदा यात्रुको चाप उच्च

  • 432
    SHARES
  • रेल सेवाको क्षमता कम हुँदा यात्रुको चाप उच्च

    काठमाडौं । जनकपुर आसपासका बासिन्दा कुर्था-जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन ।

    दैनिक एउटा रेल दुई पटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन् । झण्डै तीन सय सिट क्षमता रहेकामा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

    दुई रेल भएपनि नियमितरूपमा एउटा मात्रै सञ्चालन गर्न सकिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । उनका अनुसार नियमित मर्मतका लागि र एउटा रेल बिग्रँदा अर्कोले सहायता गर्नुपर्दा एउटा मात्रै नियमित सञ्चालन हुँदै आएको छ ।

    यहाँ बस लगायतका सवारीसाधन नियमित नभएको र भाडादर पनि बढी हुँदा यात्रु रेलप्रति नै आकर्षित रहेका छन् । उनले भने, ‘अबका महिनामा यात्रु अझै बढ्ने भए पनि रेलको क्षमता नै कम छ ।’

    यो खण्डमा रेलको पूर्वाधार २०७८ चैत १९ शुभारम्भ भएर त्यसको भोलिपल्टबाट नियमित सञ्चालन भएको थियो । ट्याक निर्माण सकिएको र रेल सेट खरिद गरेर पनि लामो समयसम्म त्यसै रहेकाले पनि तत्काल सञ्चालन गर्नु चुनौती रहेको प्रमुख झाले बताए ।

    उनले भने, ‘झण्डै १० वर्षदेखि त्यहाँ रेल चल्न सकेको थिएन र नेपाल भारत सीमामा रेल त्यसै छोपेर राखिएको थियो ।’ रेल खरिद पहिले संरचनागत सुधार गर्नुपर्ने भए पनि त्यो नगरी हतारिएर खरिद भएको प्रमुख झाले बताए ।

    ट्रयाक बनिसकेको र रेल खरिद भएकाले जनस्तरबाट दबाब रहेको र तत्काल सुरु गर्न आवश्यक रहेको उनले जानकारी दिए । उनले भने, ‘जनशक्ति व्यवस्थापन, रेलको वास सेन्टर, फ्युल स्टेशन, वासिङ सेन्टर बनाउनुपर्नेलगायतका संरचना विकास गर्नुपर्ने थियो । तर संरचना नबन्दै रेल चलाउन थाल्नुपर्ने भयो ।’

    आजसम्म पनि रेलका विभिन्न संरचना बन्न बाँकी छ । यसअघिको व्यवस्थापनबाट भारतको कोनकोन रेल्वे कर्पोरेशन लिमिटेडसँग करार सम्झौता भएको भए पनि रकम अभावका कारण खरिद हुन नसकेको प्रमुख झाको भनाइ छ ।

    आवश्यक संरचना निर्माणका लागि प्रक्रिया सुरु गर्दा रेल चलाउन झण्डै चार/पाँच महिना ढिलाइ हुनसक्ने र रेल कहिले चल्छ भनी धेरैको उत्सुकता रहेको थियो । उनले भने, ‘त्यतिबेला रेल तत्काल चलाएर आवश्यक सुधार गर्ने सोच बनाइएको थियो ।’

    अहिले धनुषा जिल्लामा पर्ने कुर्थाबाट ३४ दशमलव ९ किमी ट्याक सञ्चालनमा छ । बर्दिवासको बिजुलपुरासम्म १७ किमीमा ट्याक निर्माण सकिएर सञ्चालन गर्न हुने भएको छ । बिजुलपुराबाट बर्दिवाससम्म १८ किमीमा पनि रेलमार्ग निर्माण हुने र अबको केही वर्षपछि ७० किमी रेल चलाउनुपर्नेछ ।

    उनले भने, ‘त्यहाँ आवश्यकता र मागका आधारमा रेल पनि सानो रहेको छ ।’ अहिले एउटा रेलमा उभिएर र बसेर गरी झण्डै ६५० जनासम्म अटाउँछन् । अहिले कम्पनीसँग दुई थान रेल सेट रहेको छ । दुवै रेल सातामा एकएक दिन गरी दुई दिन नियमित मर्मतका लागि पठाइन्छ ।

    आइतबार एउटा र एउटा सोमबार पठाइने गरिन्छ । मर्मतको दिनमा रेल दिनभर ‘सर्भिस सेन्टर’ हुने र चलाउन नसकिने उनले बताए । उनले भने, ‘नियमितरूपमा दुई रेल चलाउन हामीसँग तीन वटा हुनुपर्छ ।’

    रेल सञ्चालन गर्दा यात्रुबाहक रेलसँगै मालबाहक रेल आवश्यकपर्ने छ । अहिले एउटा रेल दुई पटक आउने र जाने गरेकामा टिकटबाट झण्डै ७ करोड आम्दानी हुन्छ । तीन पटक चलाउँदा बढीमा १० करोडसम्म आम्दानी हुनसक्ने र मालबाहक चल्दा थप रकम आम्दानी हुनसक्ने उनले बताए ।

    अहिले रेल सञ्चालनका प्राविधिक कामका लागि भारतीय जनशक्ति करारमा काममा लगाइएको छ । आगामी दिनमा नेपाली जनशक्तिलाई तालिम दिएर दक्ष बनाउँदा महँगो तिरेर अरु देशबाट ल्याउनु ल्याउनु नपर्ने उनले जानकारी दिए ।

    त्यस्तै आफ्नै फ्युलिङ सेन्टर बनाउँदा थप २८ प्रतिशत कर तिर्नु पर्दैन भने वर्कसप बनाउँदा वार्षिक १० करोड जोगिन्छ । वासिङ सेन्टर झण्डै एक करोड जोगिन्छ । सरकारले त्यसका लागि आवश्यक संरचना निर्माण गर्न सहयोग गर्नुपर्ने उनले बताए ।

    उनले भने, ‘त्यसका लागि हामीले रेल विभागमार्फत मन्त्रालयमा लिखित माग गरिएको छ ।’ २०७७ को फागुन ४ गते मन्त्रिपरिषद्ले भारतीय कम्पनीसँग सम्झौताअनुसार संरचनाका लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा दिने निर्णय गरेको थियो ।

    कम्पनीले अझैसम्म रकम नपाएको र अर्थ मन्त्रालय धाइरहेको उनले बताए । अघिल्लो व्यवस्थापनले गरेको सम्झौताका लागि सरकारले रकम छुटयाएको थियो । उनले भने, ‘त्यही सम्झौताअनुसार नै पाउनुपर्ने रकम पनि म आएपछि आएको छैन ।’

    कुनै पनि संस्थालाई जुनसुकै काम गर्न सरकारले बीउ पुँजी दिने र संस्थालाई आफ्नो खुट्टामा हिँड्ने बनाउने प्रमुख झाले बर्ताए । यात्रुको चाप धेरै भए पनि कम्पनीसँग किन्ने पैसा नभएको उनको भनाइ छ ।

    दुई थान हुँदा एक थान मात्रै नियमितरुपमा चलाउन सकिएको हुँदा थप एक हुँदा नियमित दुई चलाउन सकिनेछ । थप एक थान यात्रुबाहक र एक थान मालबाहक रेल चाहिने कम्पनीले माग गर्दै आएको छ ।

    उनले भने, ‘पैसा नभएपछि योजनाले मात्रै गर्न सकिँदैन । यति भए पनि नाफामा लैजान सकिन्छ ।’ रकम निकासको माग गर्दै अर्थ मन्त्रालयमा फेरि पनि फाइल पठाइएको कम्पनीले जनाएको छ ।

    पैसा आएपछि वर्कसप बनाउन नसकिए पनि फ्युलिङ सेन्टर र वासिङ सेन्टर बनाइने छ । ती संरचना बनेपछि पाँच/सात करोड जोगिन्छ । नेपाली जनशक्ति नियुक्त गर्नका लागि संगठन र व्यवस्थापन (ओएण्डएम) गर्न टिम बनाएको र त्यसको फाइल मन्त्रालयमा रहेको छ ।

    मन्त्रालयबाट स्वीकृत भएपछि काम गरेर १५/२० दिनमै लोकसेवालाई दिइनेछ । उनले भने, ‘जनशक्तिलाई तालिम गरेपछि आफैँले गर्न सक्छ ।’ घाटा कम गर्न आवश्यक संरचना निर्माण गर्नुपर्ने, कर्मचारी नेपाली नियुक्त गरेर तालिम दिनुपर्ने र व्यवसाय योजना बनाउनुपर्ने छ ।

    अहिले टिकटबाट उठाइएको पैसा नेपाली कामदार र पेट्रोलियम पदार्थलाई पुग्ने गरेको छ । २०७० सम्म जयनगर-जनकपुर न्यारो गेजमा रेल सञ्चालन भएको थियो ।

    न्यारो गेजलाई ब्रोड गेजमा स्तरोन्नति गर्न भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर-वर्दिबास ७० किमी खण्डमा निर्माण सुरु भएको थियो । सो मध्ये आधा सम्पन्न भइसकेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij