वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नेतृत्वमा नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाइएपछि आफ्नो गल्ती नभएको बताएका छन् ।
यसअघि बिहान सोही स्थानमा पुगेका साहसँग घरबेटी द्विराज शर्मासँग झोक्किँदै सवाल जवाफमा उत्रिएका उनले अपराह्न डोजर लगेर भत्काएपछि फेसबुकमार्फत लेखेका हुन् ।
नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार अपराह्न पुनः डोजर लिएर गएर भत्काएका थिए ।
उनले भनेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ । अब उपरान्त यस्तो गर्न नपरोस् । सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यही अनुसार बनाइदिनुहोला ।’
सोमबारदेखि नयाँ बानेश्वरबाट सुरु भएको अभियान काठमाडौं महानगरपालिकाको विभिन्न स्थानहरूमा डाेजर चलिरहेको छ ।
महानगरले हिजो सुनधारास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचनामा डोजर चलाएको थियाे ।




Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij