Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अमलेखगञ्जमा निमार्णधीन पेट्रोल भण्डारण गृहकाे कामले गति लिँदै

अमलेखगञ्जमा निमार्णधीन पेट्रोल भण्डारण गृहकाे कामले गति लिँदै

  • 383
    SHARES
  • अमलेखगञ्जमा निमार्णधीन पेट्रोल भण्डारण गृहकाे कामले गति लिँदै

    काठमाडौं । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

    दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्यांक) निर्माण सुरु भएको हो ।

    मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइप लाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेशगञ्ज डिपोले जनाएको छ ।

    मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन (आइओसी)ले गर्ने बताइएको छ ।

    उक्त पूर्वाधार निर्माण गर्न १ अर्ब ३० करोड लागत लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए । भण्डारण गृह निर्माण नभएका कारण  पाइपलाइनबाट पेट्रोल ल्याउन नसकिएको उनले भने ।

    उक्त परियोजनाअन्तर्गत पहिलो चरणको २०७६ भदौ २४ गते सम्पन्न कार्यबाट पाइप लाइनबाट डिजेल आयात गर्न सुरु भएको बताइएको छ । दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न चार हजार एक सय किलोलिटर क्षमताका दुई ट्यांकी निर्माण भइरहेको छ ।

    साथै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्यांकर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङसेट निर्माण गर्न लागिएको हो । यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ ।

    पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास लिइएको छ । त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारण गृह निर्माण भइरहेको छ । विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमीको दूरीमा ट्यांकरमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो ।

    हाल पाइप लाइनबाट प्रतिघण्टा दुई सय ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ । पहिलो चरणको परियोजनामा पाइपलाइनमार्फत डिजल आयात गर्न नेपाल आयल निगम र आइओसीको संयुक्त लगानीमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निमार्णको काम २ अर्ब ७५ करोड भारतीयरूपैयाँमा सम्पन्न भएको थियो।

    अमलेखगजञ्मा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र दुई हजार एक सय किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ । बजारको मागअनुसार पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ ।

    उक्त पाइपलाइनबाट आयात गरिएको डिजेल वीरगञ्ज, जनकपुर अमलेखगञ्ज, काठमाडौँ, पोखरा, चितवनलगायत जिल्लामा बिक्री वितरणका लागि पठाउने गरिएको छ ।

    नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच २०७२  साल भदौ ७ गते पेटोलियम पाइपलाइन परियोजना निर्माण गर्नका लागि सम्झौता भएको थियो ।

    आगामी २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइपलाइनबाट पेट्रोल आयात गर्ने आयल निगमको लक्ष्य रहेको अमलेखगञ्ज डिपोले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij