वेबटिभी खबर
दाङ । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि लमही बजारमा बस्थिन । कमाइ केही थिएन । उनका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया गएका थिए ।
उनले सिलाइकटाइ तालिम लिइन् र कपडा सिलाउन थालिन् तर त्यसबाट भनेजति कमाइ हुन सकेन । उनले हर्दवामा रहेको माइती घरमा गइन् र त्यहीँ बाख्रापालन थालिन् । चार बाख्राबाट सुरु गरेको व्यवसाय बढ्दै गएपछि गाउँमै उनी रमाउन थालिन् ।
अहिले उनकाे फार्ममा ८० बाख्रा छन् । उनले वि.सं २०७८ को दसैँमा रू दुई लाखका खसीबोका बिक्री गरिन् । बाख्राबाटै वार्षिक रू चार लाखभन्दा बढी कमाइ हुने गरेको छ ।
यही कमाइबाटै उनले छ कट्ठा जग्गा किनिसकेकी छिन् । ‘सुरु मा माइतीले दिएको एक कट्ठामा बाख्रा पाल्न सुरु गरेकी थिएँ, अहिले कमाएर जग्गा थपेँ’, कृष्णीकुमारीले भनिन्, ‘बाख्राबाट राम्रो कमाइ हुन थालेपछि श्रीमान् पनि यही फर्कनुभएको छ, दुवैजना मिलेर बाख्रापालन गरेका छौँ ।’
अर्काको भूमिमा पसिना बगाउनुको साटो आफ्नै गाउँ घरमै प्रशस्त कमाइ भएपछि श्रीमान–श्रीमती मिलेर काम गरेको उनले बताइन् । लमही–९ रिहारकी हुमा वलीले २०७२ सालबाट व्यावसायिक रूपमा बाख्रा पालन गरेकी छिन् ।
रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले दिएका तीन बाख्राबाट व्यवसाय सुरु गरेकामा अहिले उनीसँग ५० बाख्रा छन् ।
उनका श्रीमान् मानसिंह वली वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । गाउँमा बाख्रा पालनबाट राम्रो आम्दानी हुन थालेपछि हुमाले श्रीमानलाई घरमै बाख्रा पालन गरौँला भनेर बोलाइन् ।
अहिले उनीसँग १५ खसी, १३ माउ र साना पाठापाठी २३ छन् । गत दसैँमा रू दुई लाख ९१ हजारका खसी बिक्री भएका थिए । यसपाली पनि १२ खसी दसैँमा बिक्री गर्ने भनेर पालेको उनले बताइन् । घरमा पालेका खसी बढीमा ४० किलोसम्मका बिक्री गर्न उनी सफल भइन् ।
गत वर्षका ३० खसी रोगै पत्ता नलागेर मरे तर पनि हरेस नखाएर काममा लागेको उनकाे भनाइ छ । उनको पाँच जनाको परिवार छ । ‘सबैले मिलेर घरको काम गर्ने गरेका छौँ’, उनले भनिन् , ‘घरको छेउमा सुपरनेपियर, किमु, जिगट र मकैचरी घाँस रोपेका छौं, बाख्रालाई खुवाउन सजिलो भएको छ ।’
बाख्रामा खासै लगानी गरिएको छैन तर आम्दानी भने नसोँचेको भएको उनको भनाइ छ । उनका अनुसार सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको छ । लमही–९ हर्दवाकी गङ्गा घर्तीले पनि व्यावसायिक रूपमा बाख्रा पालेकी छिन् । अरू समयमा पनि बाख्रा बिक्री हुन्छ, तर २०७८ सालको दसैँमा मात्रै खसीबोका बेचेरै उनले रू तीन लाख कमाएकी हुन् ।
उनीसँग ५५ बाख्रा छन् । उनी वर्षमा रू चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछिन् । ‘अहिले त जुनी नै फेरिएजस्तो भएको छ, पहिले भैँसी पालेर खान मात्र ठिक्क हुन्थ्यो’, उनले भनिन्, ‘अहिले कमाइ छ, अरूलाई सापट दिनसक्ने भएकी छु ।’
नौ वर्षअघि ग्रामीण महिला उत्थान केन्द्रबाट उपहार पाएका दुई बाख्राबाट उनले व्यवसाय सुरु गरेकी हुन् । उनले भनिन्,‘अझै बढाउने योजना छ ।’ महिला सहकारीबाट बिना धितो ऋण, बाख्रा उपहार र तालिम, डालेघाँसको बीउ, प्राविधिक सेवा दिन थालेपछि हौसला बढेको घर्तीले बताइन् ।
राम्रो आम्दानी भएपछि महिलाहरू बाख्रापालन व्यवसायमा आकर्षित भइरहेको लमही–९ रिहारस्थित कर्मठ महिला सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष देवीमाया थापाले बताइन् ।
सहकारीका एक हजार २०० सदस्यमध्ये ५० बढीले बाख्रापालन गर्दै आएको उनले बताइन् । सहकारी संस्थाले संस्थामा आवद्ध सदस्यलाई तीन देखि चार बाख्रा दिएर सहयोग गर्ने गरेको अध्यक्ष थापाले बताइन् ।
आफूले उत्पादन गरेको बस्तु बिक्री गर्न सजिलो होस् भनेर सहकारीले खसीबोका खरिद गर्ने गरेको छ । गत दसैँमा सहकारीले जिउँदो २० देखि २६ किलोसम्मको खसीको प्रतिकिलो रू चार सय २० निर्धारण गरिएको थियो ।
त्यस्तै सहकारीले गत दसैँमा २७ देखि ३५ किलोसम्मका खसीलाई प्रतिकिलो रू चार सय ९० र ३५ किलोभन्दा माथिका जिउँदो खसीलाई प्रतिकिलो रू पाँच सय मूल्य निर्धारण गरेर किसानसँग खरिद गरेको थियो ।
त्यस्तै बोका २५ किलोभन्दा कम तौल भएकालाई प्रतिकिलो जिउँदो रू चार सय ३० र सोभन्दा माथिकालाई प्रतिकिलो रू चार सय ५० मूल्य निर्धारण गरेर खरिद गरेको अध्यक्ष थापाले बताइन् । सांकेतिक तस्बिर
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij