वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले फोहोर बोक्ने सवारीसाधनमा तोडफोड गर्नेलाई कडाभन्दा कडा कारबाही हुने बताएका छन् ।
सोमबार राति अज्ञात समूहले बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर पुगेका सवारीसाधनमा तोडफोड भएको विषयमा टिप्पणी गर्दै मेयर साहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा बताएका हुन् ।
सवारीसाधनमा तोडफोड गर्नेलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही हुनैपर्छ भन्नेमा महानगर स्पष्ट रहेको उनले फेसबुकमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन्,‘ कानुनीरूपमा पनि फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरूलाई कडाभन्दा कडा कारबाही हुनैपर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरूबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउनुपर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको छ ।’
उनले फोहोर व्यवस्थापनप्रति महानगर सुरुवातदेखि नै संवेदनशील र क्रियाशील रहेको उल्लेख गरेका छन् । फोहोर व्यवस्थापन महानगरको पहिलो प्राथमिकता भएको र वर्षौँदेखि अव्यवस्थित फोहोरलाई व्यवस्थित गर्दा चरणबद्ध रूपमा नयाँनयाँ व्यवधान ल्याउने प्रयास भइरहेको बताएका छन् ।
सोमबार राति फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा पुगेका सवारीसाधनमा तोडफोड गरिएको विषयलाई फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा महानगरले लिएको उनले उल्लेख गरेका छन् ।
केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरूको फोहोरलाई अव्यवस्थित पार्न नसकिँने उनको भनाइ छ ।
मेयर साहले विभिन्न बहाना बनाएर फोहोर व्यवस्थापनमा अबरोध नगर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij