वेबटिभी खबर
बाग्लुङ । बेंसीतिर साउन अन्तिमतिर बाटै अलैँची पाक्न सुरु हुन्छ । माथिल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । तर अलैँची टिप्ने याममा किसानलाई उही पीरलोले सताउँछ-दुम्सीबाट अलैँची कसरी जोगाउने ?
हुन त बाहिरी जीवजन्तुबाट कम जोखिम भएको बालीमा अलैँची पर्छ । तैपनि यहाँका किसान भने दुम्सी, भार्से जस्ता जन्तुले पाक्ने बेलाको अलैँची खाइदिएर हैरान छन् ।
ताराखोला गाउँपालिका-१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले बर्सेनि दुम्सीले अलैँचीमा क्षति पर्याउने गरेको बताउछन् । ‘दुम्सीले सधैँ सर्वस्व पार्छ, धेरै त उसैले खान्छ बचेको मात्रै हामीले टिप्ने हो’, उनले भने ।
‘वन्यजन्तु र रोगबाट बचाउन सके अलैँची उत्पादनले फड्को मार्ने थियो ।’ अगुवा अलैँची किसान भण्डारीले टिप्न ठिक्क भएको अलैँची दुम्सीले खाइदिने गरेको छन् । उनी नौ वर्षयता अलैँचीको व्यावसायिक खेतीमा छन् ।
केन्द्रले सय रोपनीमा अलैँची लगाउँदै आएको छ । अलैँची बेचेर वार्षिक सात/आठ लाखसम्म कमाई हुने गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । ‘जीवजन्तुबाट हुने क्षति रोक्न सकियो भने किसानको आम्दानी अझै बढ्छ’, उनले भने ।
बरेङ गाउँपालिका-२ हुग्दीशिरको नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलको अनुभव पनि उस्तै छ । बरेङका अलैँची किसानलाई भार्सेले सताउने गरेको उनले बताए । झट्ट हेर्दा बिरालो झैँ देखिने भार्सेले अलैँची खाने र बोट छेउ बिस्टाउने गरेको अध्यक्ष पौडेलको भनाइ छ ।
‘अरू बेला भार्सेले केही गर्दैन, पाकेर टिप्ने बेला हुन लाग्दा आएर खाइदिन्छ’, उनले भने, ‘वन्यजन्तुसँगै रोगकिरा, प्रतिकूल मौसम आदिबाट पनि अलैँची किसान मारमा छन्, उत्पादनले भाउ नपाउने समस्या पनि उस्तै छ ।’
यो वर्ष तुसारो र हिउँले बिरूवा नासेको अध्यक्ष पौडेलको भनाइ छ । डढुवा रोगले पनि अलैँचीलाई बेला-बेला सताउँछ । ‘दाना लाउने बेलामा बोट मर्ने, फूल कुहिने, पूरा दाना नलाउने जस्ता समस्या अलैँचीमा बढी छ’, उनले भने ।
‘एकातिर किसानलाई पनि अलैँची खेतीबारे प्राविधिक ज्ञानको कमी छ, अर्कोतिर जिल्लामा अलैँचीका प्राविधिज्ञ र विज्ञ पनि छैनन् ।’ उक्त समूहका किसानले गत वर्ष २० क्विन्टल अलैँची बेचेर २२ लाख ६ हजार ५०० भित्र्याएका थिए ।
दुई वर्षअघि प्रतिकिलो ६ सय रूपैयाँमा अलैँची बेचेका किसानले अघिल्लो वर्ष प्रतिकिलो १ हजार १ सय ५० सम्म पारेका थिए । बाहिरी क्षतिबाट जोगाउन सके अझै राम्रो आम्दानी लिन सकिनेमा त्यहाँका किसान ढुक्क छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अलैँची खेतीलाई वन्यजन्तुले क्षति पुर्याउने गरेको घटना कमै सुनिने गरेको बताए ।
‘हामी कहाँ आधिकारिक रुपले जानकारी त आएको छैन, तर किसान सचेत हुनेपर्ने अवस्था भने देखियो’, उनले भने, ‘अलैँची बगानको रेखदेख गर्ने, सरसफाइ गर्ने, चिस्यान र छहारी दिने खालका रुख लगाउने गर्नुपर्छ ।’
प्रमुख भट्टराईले अलैँची बगानलाई तारबारले छेक्न सम्भव नहुने भएकाले दुम्सी, मुसा जस्ता जीवजन्तुलाई अनुकूल हुने गरी जमिन सुक्खा नराख्न र वरिपरिको ठाउँ सफा राख्न किसानलाई सुझाव दिए ।
अलैँची पाक्ने बेला मान्छेबाटै पनि चोरी हुने खतरा रहने हुँदा बगैँचामा हेरालु बस्नुपर्ने उनको भनाइ छ । अलैँची मात्र नभएर अरू बालीनालीका लागि पनि वन्यजन्तु चुनौती बनेको किसान बताउँछन् ।
सबैभन्दा बढी बाँदरको डर रहेको छ । जिल्लामा कूल १ हजार २ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष ३८ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।
पछिल्लो पाँच/छ वर्षयता अलैँची खेती विस्तार भइरहेको छ । राम्रो कमाई हुने देखेर किसान अलैँची खेतीतिर आकर्षित भएका छन् । अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ ‘पकेट’ र दुई ‘ब्लक’ क्षेत्र घोषणा गरिएको छ ।
ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा अलैँची ‘ब्लक’ छ । जैमिनी, बाग्लुङ नगरपालिका, काठेखोला, निसीखोला, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा ‘पकेट’ कार्यक्रम सञ्चालित छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत किसानले अलैँची खेतीमा अनुदान र तालिम पाउने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij