वेबटिभी खबर
काठमाडौं । धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ ।
कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा १ हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए ।
उनले भने, ‘अनुदानको मल पाइएन । मल राख्नुपर्ने बेला भइसकेपछि बाध्य भएर जस्तो भएपनि चर्को मूल्य तिरेर अवैधरूपले ल्याइएको मल प्रयोग गरेका छौँ ।’
भारतबाट तस्करी गरि बजारमा खुलेआम बिक्री भइरहेका रासायनिक मल नियमन गर्ने र गुणस्तर जाँच गर्ने निकायसमेत नहुँदा किसानले जस्तो मल पायो सोही प्रयोग गर्ने गरेका छन् ।
त्यस्तो मलसमेत पाउन निकै गाह्रो हुने गरेको किसानको गुनासो थियो । अनुदानको मल सहकारी संस्थाले १ हजार प्रतिबोराका दरले उपलब्ध गराउने भए पनि भारतीय मल युरिया भने बजारमा १ हजार ६०० देखि १ हजार ८००सम्ममा बिक्री भइरहेको छ ।
साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड महेन्द्रनगर उपशाखाले छ हजार बोरा रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई बिक्री गरेको जनाएको छ । चालु आवको साउन महिनाको पहिलो सातामै उपशाखाले सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल बिक्री गरेको हो ।
प्रतिबोरा युरिया ८८१ मा सहकारीमार्फत किसानलाई बिक्री गरेको उपशाखा प्रमुख दीपक भट्टले बताए । उनका अनुसार उपशाखामा अझै एक हजार ८८४ बोरा युरिया र दुई हजार १०० बोरा डिएपी मल मौज्दात रहेको छ ।
उनले भने, ‘पाँच दिनअघिदेखि किसानलाई युरिया मल बिक्री गरिरहेका छौँ । युरिया मलको माग अधिक छ । थोरै मौज्दातले पुग्दैन ।’ मौज्दात रहेको मल एक÷दुई दिनमै सहकारी संस्थालाई बिक्री गरिसक्ने उनले बताए । कर्पोरेशनमा १०२ वटा सहकारी संस्था सूचीकृत छन् ।
कर्पोरेसनले ५० किलोग्रामको बोरा रु आठ सय ८१ मा सहकारीलाई बिक्री गरेको युरिया मल किसानलाई सहकारीले १ हजार १०० मा बिक्री गररिहेको छ । लोड, अनलोड, ढुवानी खर्चसमेत जोडेर कर्पोरेसनबाट खरिद गरिएको मल किसानलाई बिक्री गरिँदै आएको सहकारी सञ्चालकको भनाइ छ ।
अर्को सरकारी रासायनिक मल आपूर्ति गर्ने संस्था कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखासँग भने रासायनिक मलको मौज्दात नै छैन । शाखाप्रमुख बलबहादुर शाहले रासायनिक भैरहवासम्म पनि आइनपुगेको बताए ।
उनले भने, ‘भारतको कलकता बन्दरगाहमा आइपुगेको जानकारी भएको छ । भैरहवा आइपुग्न एक हप्ता बढी लाग्छ । यहाँ आइपुग्न दुई हप्ता बढी लाग्छ ।’ शाखाप्रमुख शाहका अनुसार कैलाली र कञ्चनपुरका लागि अझै ढुवानीको टेण्डर नै भएको छैन । किसानले युरियाका लागि दुई तीन हप्ता अझै कुर्नुपर्ने देखिन्छ ।
कञ्चनपुरका लागि रासायनिक मलको ३० प्रतिशत साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले र ७० प्रतिशत रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनीले गर्दै आएको छ । दुवै कम्पनीले आपूर्ति गर्ने मलभन्दा किसानको माग अधिक रहेको छ । यसका लागि सरकारले मागअनुसार कोटा वृद्धि गरिनुपर्ने किसानले माग गर्दै आएका
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij