वेबटिभी खबर
काठमाडौं । फोहोर बढी उत्पादन हुने वर्षाको समयमा सिसडोलबाट बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम भइरहेकाले केही दिनदेखि उपत्यकाको सडकमा फोहर थुप्रन थालेको छ । वर्षामा रोगव्याधी फैलने संभावना पनि बढी हुने भएकाले फोहोर अलपत्र पर्दा थप जोखिम बढेको छ ।
उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले व्यवस्थापन गर्न समस्या भएको हो ।
उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको महानगरको वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । सडक मर्मतको काम सकेसँगै फोहर नियमितरूपमा व्यवस्थापन हुने महानगरले जनाएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।
हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ । कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आ–आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij