वेबटिभी खबर
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिनेमा कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएको छ ।
शंकास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको संक्रमण देखिन थालेको हाे ।
भारतबाट फर्कने शंकास्पद व्यक्तिको एन्टिजेट विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको संख्या बढ्दो गएको उनको भनाइ छ । एक साताको अवधिमा २२ जना बढीमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।
‘आज बिहान मात्रै एन्टिजेन परीक्षण गर्दा ४ जनाको नतिजा पोजेटिभ देखिएको छ’, उनले भने, ‘गत मंकलबार मात्रै ९ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो ।’
दैनिक २ सय बढीको एन्टिजेन परीक्षणको कार्य हुँदै आएको छ । एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको छ ।
‘एन्टिजेनको नतिजा पोजेटिभ आएकालाई निःशुल्करूपमा एम्बुलेन्समार्फत अस्पताल पठाउने गरेका छौं’, उनले भने, ‘अस्पतालमा परामर्श पश्चात होम आइसोलेशनमा पठाइने गरिएको छ ।’
कोरोना परीक्षणका लागि आवश्यकपर्ने किट लगायतका सामग्रीको हालसम्म अभाव नरहेको उनले बताए । दैनिक सीमा नाका भएर फर्कनेको संख्या चारदेखि पाँच सयको हाराहारीमा रहने गरेको छ ।
भारतबाट फर्कने व्यक्तिमा कोरोनाको संक्रमण देखिन थालेपछि परीक्षणको कार्यलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।
कोरोनाविरूद्धको जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरूद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिँदै आएको उनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij