Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

  • 306
    SHARES
  • स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएकी छिन् ।

    चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्येक्षरूपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताएकी हुन् ।

    रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ लिनुपर्ने विचार व्यक्त गरिन् ।

    ‘स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको संख्या बढ्न थालेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ, स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित् गरेको छ, संस्थानले पनि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न योगदान गरेर गुन लगाएको छ’, राष्ट्रपति भण्डारीले भनिन् ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्‍याउन कठिन भएको उल्लेख गर्दै संविधानमा मौलिक हककारूपमा स्थापित गरिएको आधारभूत स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा चुनौती थपिएको बताए ।

    ‘कोरोनाविरूद्धको खोपमा नेपालले सफलता हासिल गरेको छ, अहिले फेरि कोरोना बढ्न थाले पनि पहिले जस्तो समस्या नहुने गरी स्वास्थ्य पूर्वाधार स्थापना भएको छ, सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको छ, हालसम्म कोरोनाबाट ११ हजार ९५२ नेपालीको ज्यान गएको छ’, मन्त्री खापुङले भने ।

    मुटुको सर्जरी, कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमै हुन थालेकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्री खापुङको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले संस्थानअन्तर्गत प्रतिदिन बहिरंग सेवामा २ हजार ३०० र अन्तरंग सेवामा ७०० जनाले उपचार लिइरहेको जानकारी दिए ।

    संस्थानकी डीन प्राडा.दिव्यसिंह साहले ३०१ शय्याबाट सुरु भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हाल १ हजार शय्या पुगेको जानकारी गराइन् । संस्थानमा हाल स्नातक तहदेखि विद्यावारीधिसम्म अध्ययन गर्ने व्यवस्था गरिएको छ ।

    १९७२ मा जापान सरकारको सहयोगमा त्रिवि शिक्षण अस्पताल स्थापना भएको हो । संस्थानअन्तर्गत हाल देशभर सात आंगिक, एक केन्द्रीय क्याम्पस र १५ सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् ।

    विश्वविद्यालयले हाल कीर्तिपुरमा संस्थानलाई ३०० रोपनी जग्गा उपलब्ध गराएको छ । उक्त जग्गामा स्वास्थ्य र शिक्षाको विशिष्ट सेवा दिने लक्ष्य राखिएको छ । संस्थानअन्तर्गत हाल चिकित्सा क्षेत्रका करिब ५० विधाको अध्ययन, अध्यापन एवम् अनुसन्धानको काम भइरहेको छ ।

    कार्यक्रममा संस्थानका पूर्व डीन प्राडा. मोहिन साह, प्राडा.हेमांग दीक्षित, प्राडा.गोपालप्रसाद आचार्य, प्राडा.मदनप्रसाद उपाध्याय, प्राडा.भीष्मराज प्रसाइँ, प्राडा.हरिगोविन्द श्रेष्ठ, प्राडा.अरुण सायमी, प्रा डा.धर्मकान्त बाँस्कोटा, प्राडा.राकेशप्रसाद श्रीवास्तव, प्राडा.केशवप्रसाद सिंह र प्राडा.जगदीशप्रसाद अग्रवाललाई सम्मान गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij