वेबटिभी खबर
लमजुङ । हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर-चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको हो ।
अधिकांश स्थानमा वर्षा लागेपछि सडक ठाउँ-ठाउँमा पहिरोका कारण अवरूद्ध हुँदै आउने गरेको छ । सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकमा सहज यात्रा गर्न सक्ने अवस्था भएको छैन् ।
ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ । सोही मार्गमार्फत जिल्लामा खाद्यान्न, पूर्वाधार विकासका सामग्री ढुवानी हुने गर्दछ । समय-समयमा पहिराे खस्दा आवतजावत बन्द हुने गरेको छ ।
केही समयदेखि वर्षाका कारण लमजुङको बेंसीसहर नगरपालिकास्थित खरखरे, मर्स्याङ्दी गाउँपालिकास्थित अर्खले, च्याम्चे, स्याङगे, सिरचौरलगायतका ठाउँमा पहिराेका कारण सवारी आवगमनमा समस्या भएको छ ।
मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसरपसार गर्नुपर्ने हुन्छ । समयमा सामग्री पुर्याउन नसक्दा विकास निर्माणका काममा ढिलाइ हुने ठेकेदार कम्पनी क्याराभान कन्सल्टेन्सीका सबइञ्जीनियर नारायण लामाले बताए ।
प्राकृतिक विपद्ले मनाङको विकास र पुनःनिर्माणको काम पाए पनि बाढीपहिरो र हिमपातले गर्दा समयमा पूरा गर्न नसकिएको उनको भनाइ छ । वर्षामा बाढी-पहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भएको छ ।
कहिले हिमपात त कहिले बाढीपहिरोको बाहनाले निर्माणमा ढिलाइ गर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।
‘प्राकृतिक भू-बनोट पनि विकट छ । ठेकेदार कम्पनीलाई बाहना बनाउने आधार बनेको छ । यो बाहनालाई समाधान गर्न लागिरेहका छौं । सडक निर्माणको कामलाई दबाब दिँदै समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउने प्रयासमा छौं’, उनले भने ।
लमजुङ सदरमुकामबाट मनाङको सिमानासम्म कूल ३५ किलोमिटर लमजुङतर्फ यस सडकमा मात्रै करिब ३५ ठाउँमा पहिरो खसेको अवस्था छ । बर्सेनि यो समस्याले मनाङवासीका साथै पैदलयात्री पर्यटकलाई आवतजावतमा कठिनाइ भएको स्थानीय बताउँछन् ।
सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीको चिन्ताको विषय बनेको छ । मनाङ र लमजुङ जोड्ने एकमात्र बेंसीसहर-चामे सडकको स्तरोन्नति एवम् कालोपत्र गर्ने केही स्थानमा भएको छ ।
तर पनि सहज भने हालसम्म पनि बनाउन सकिएको छैन । क्याराभानले २०७२ देखि पाएको ठेक्का हालसम्म पनि पूरा गर्न सकेको छैन् । बेँसीसहर-चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको ७.८ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सडक चौडाइ गर्ने, पर्खाल उठाउने, कटिङ गर्ने, कल्भर्ट बनाउने, नाली बनाउनेलगायतका काम भइरहेको छ । ५.५ मिटरको सवारी गुड्ने, १.१ मिटरको नाली र मान्छे हिँड्ने एक मिटरको सडक चौडाइ हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फमात्रै नाली निर्माण हुने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij