Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

ओली पक्षका सांसद फकाउने दाउमा प्रचण्ड-नेपाल समूह 

ओली पक्षका सांसद फकाउने दाउमा प्रचण्ड-नेपाल समूह 

  • फाल्गुण १३, २०७७ बिहिवार ११:३२ बजे
  • 1.1K
    SHARES
  • ओली पक्षका सांसद फकाउने दाउमा प्रचण्ड-नेपाल समूह 

    काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधवकुमार नेपालले ओली नेतृत्वको नेकपा पक्षधर सांसदहरूलाई सम्मानपूर्ण व्यवहार गर्न निर्देशन दिएका छन् । केही दिनअघिसम्म ‘ओली प्रवृत्ति’ को कडा आलोचना र कटाक्ष गरिरहेका माधव नेपालले  सिंहदरबारमा प्रचण्ड-नेपाल पक्षीय सांसदहरूको बैठकमा ओली पक्षका सांसदप्रति नम्र व्यवहार दर्शाउन निर्देशन दिए । 

    ‘प्रचण्ड-नेपाल पक्षले उदार भावना देखाएको भन्दा पनि आफ्नो पक्षमा सांसद थप्ने रणनीतिका रूपमा सबैसँग नम्र हुन निर्देशन दिएको हुनुपर्छ,’ ओली पक्षको स्थायी समिति एक सदस्यले टिप्पणी गरे । पार्टीका अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओली मंगलबार सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापित हुने फैसला गरेपछि पार्टीको आन्तरिक संघर्ष र नयाँ सरकार गठनको विवादलाई संसदमा गएर फेस गर्ने बताउन थालेका छन् । 

    पुस ५ गतेसम्म एउटै पार्टीमा रहेका नेता नेपाल र ओलीबीच त्यसपछिको परिघटनाले निकै दूरी बढाएको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि बहुमत खेल सुरु हुने भएकाले दुवै पक्ष यतिबेला संसदहरूलाई आफ्नो पकडमा राख्न कसरत गरिरहेका छन् । ओली पक्षमा रहेका सांसदहरूलाई आफ्नो पक्षमा ल्याउन बुधबार सिंहदरबार बैठकमा नेपालले ओली पक्षीय सांसदहरूको सम्मानमा कुनै कञ्जुस्याइँ नगर्न समेत सांसदहरूलाई निर्देशन दिएका छन् ।

    बैठकमा नेपालले भनेका छन्, ‘उतातिर रहेका माननीयहरूको शरीरमात्रै उतातिर हो । मन यतै छ ।’ भन्दै आफ्ना पक्षका सांसदहरूको मनोबल बढाउन भ्याएका छन् । ओली पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भएकाले पार्टीभित्र संघदेखि प्रदेशहुँदै स्थानीय तहसम्मै आफ्नो पक्षमा सांसदहरूको आकर्षण रहेको बुझाइमा रहेका थिए । 

    ‘प्रतिनिधिसभा पुनर्स्थापना भएपछि नयाँ बन्न सक्ने सरकारको समीकरण कस्तो हुने र ओलीको शक्ति पार्टी र सरकारमा कस्तो हुने हो यसको निश्चितताले मात्र सांसदहरूले ओलीलाई साथ दिन सक्नेछन्,’ नेपाल पक्षका एक उच्च नेताको बुझाइ छ ।

    यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’-नेपाल पक्ष सत्ता समीकरणका लागि नेपाली कांग्रेसको ढोका ढक्ढक्याइरहेको छ । हिजो बिहानमात्रै प्रचण्ड-नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेर झण्डै एकघण्टा छलफल गरेका थिए । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलाभन्दा केही गलेका ओलीपक्षीय नेताहरू भने अबको खेल संसदभित्र खेलिने भन्दै आएका छन् । 

    सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले आफूहरूको पार्टी बलियो रहेको टिप्पणी गर्दै हिजो भक्तपुरमा आयोजित एक कार्यक्रममा भनेका छन्, ‘फुटबलमा पेले, म्यारोडोना, मेस्सी र रोनाल्डोजस्ता अब्बल राजनीतिक खेलाडी आफूहरूसँगै रहेकाले अबको खेल संसदभित्र खेलिन्छ,’ सम्म भन्न भ्याए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij