Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चितवनमा ३० प्रतिशत रोपाई सकियो

चितवनमा ३० प्रतिशत रोपाई सकियो

  • 443
    SHARES
  • चितवनमा ३० प्रतिशत रोपाई सकियो

    काठमाडौं । चितवनमा वर्षे र चैते धान गरि बर्सेनि ३० हजार ५०० हेक्टरमा खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यतिबेला वर्षे धान रोप्ने काम भइरहेको छ ।

    जिल्लामा समग्रमा ३० प्रतिशत रोपाई भइसकेको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेकाअनुसार पूर्वी चितवनमा ४० देखि ४५ प्रतिशतसम्म रोपाई भइसकेको छ ।

    माडीमा २० प्रतिशत र पश्चिम चितवनमा पाँच प्रतिशत रोपाइँ सकिएको उनले बताए । जिल्लामा वर्षे धानको उत्पादकत्वप्रति हेक्टर ३.६ मेट्रिक टन छ ।

    उनले भने, ‘धान प्रवर्द्धनका लागि प्रदेश सरकारले विशेष महत्व दिएको छ । धान खेती प्रवर्द्धनका लागि भनेर सरकारले दुई करोडबढी रकम दिएको छ ।’

    धान, मकै र गहुँको विउमा किसानलाई प्रोत्साहन गर्न यस वर्ष एक करोड २५ लाख रूपैयाँ प्राप्त भएको उनले बताए । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाइ, चितवनले भोलि (१५ असार) १८औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदै छन् ।

    यस वर्षको धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ रहेको छ । खैरहनी नगरपालिका-१३ मा मेशिनबाट धान रोपेर र भरतपुर महानगरपालिका–२५ मा प्रतियोगितात्मक कार्यक्रमसहित धान रोपेर दिवस मनाउन लागिएको हो ।

    यसबाहेक विभिन्न कृषक समूह, कृषि सहकारी संस्था र नगरपालिकाले पनि दिवस मनाउन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाई, चितवनका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले बताए ।

    नेपालमा सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी १३० वटा जातका धान रोप्ने गरिन्छ । चितवनमा भने बर्खे धानमा सबैभन्दा बढी सावित्री जातको धानले ओगटेको उनी बताउँछन् ।

    त्यसको अलवा सावा मसुली सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५ लगायतका धान रोपिन्छ । कृषिमा प्रविधि भित्रिएपछि उत्पादकत्व बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाइ, चितवन सूचना अधिकारी माधव पौडेल बताए ।

    उनकाअनुसार धानको उन्नत बिउ उत्पादन गर्ने स्रोत केन्द्रदेखि धान रोप्ने, काट्ने र पराल थन्काउनेसम्मका मेशिन जिल्लामा भित्रिएका छन् ।

    ‘पछिल्लो समय चितवनको धान उत्पादन बढेको छ’, उनी भन्छन्, ‘असल विउको प्रयोग गरे मात्रै पनि २० प्रतिशत उत्पादन बढाउन सकिन्छ । युरिया मलको जथाभावी प्रयोग कम गरेपछि रोगकिरा कम लागेको किसानहरुले बताए ।’

    धानको बिउमा चितवन आत्मनिर्भर भएको भन्दै उनले सूचीकरण नभएका बिउ प्रयोग गर्न नहुने बताए । सामुदायिक नर्सरीको अभ्यासले किसानको उत्पादन लागत पनि घटेको उनले बताए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij