वेबटिभी खबर
महोत्तरी । लोेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले नागरिकता विधेयक चाँडै संसद्बाट पारित हुने बताएका छन् ।
महोत्तरीको औरही नगरपालिकाको १०औँ नगरसभाको उद्घाटन गर्दै शुक्रबार उनले सत्तारुढ गठबन्धनसँग नागरिकता विधेयक छिटै पारित गरिने सहमति भएको बताए । यो विधेयक पारित भएपछि मधेसमा विगतदेखि बल्झँदै आएको नागरिकता समस्या समाधान हुने उनले विश्वासा व्यक्त गरे ।
'सत्तारुढ पाँचदलीय गठबन्धनसँग हाम्रो भएको सहमति पालना भए यही असारभित्रै विधेयक पारित हुनेछ,' नेता भण्डारीले भने 'सहमति पालना हुने विश्वासले यो चाँडै पारित हुन्छ भन्न सकिएको हो ।'
वैवाहिक अङ्गीकृत महिलाले यसअघि पाउँदै आएका नागरिकताको सहुलियत अहिलेको विधेयक मस्यौदामा फरक पारिँदा समस्या भएको भण्डारीको भनाइ छ । मस्यौदामा नेपालीसँग विवाह भएकी विदेशी महिलाले नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने लेखिएको सच्याउनुपर्ने आपूmहरूको माग रहेको भण्डारीले स्पष्ट पारे ।
भण्डारीले नगरसभाबाट किसानलाई अधिकाधिक सहुलियत र शैक्षिक विकासमा जोड दिन स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे । नगरसभामा औरहीका नगरप्रमुख प्रदीप खड्काले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४४ करोड २४ हजारको अनुमानित आय–व्ययको बजेट र नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij