वेबटिभी खबर
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि स्वयंसेवकहरु परिचालन गर्न सरकारलाई सुझाव दिएको छ ।
पार्टीका महासचिव चन्दले बिहीबार विज्ञप्ती जारी गर्दै बन्दाबन्दीलगायत अभियान प्रर्याप्त नभएको भन्दै अभियानका रूपमा सरकारले स्वयंसेवकहरू परिचालन गनुपर्ने बताएका हुन् ।
उनले कोरोना नियन्त्रणमा सरकारको मात्र भर नपरी यस्तो अभियानलाई आफ्नो पार्टीले सहयोग गर्ने पनि जनाएका छन् ।
‘कोरोना महामारीले नेपाल फेरि आक्रान्त भएको छ र बन्दाबन्दीको अवस्थामा जान बाध्य भएको छ । यो अवस्थासँग जुध्न सरकारले बन्दाबन्दीलगायत अभियान सञ्चालन गरेको छ तर त्यो आफैंमा पर्याप्त देखिदैन । यस प्रकारको समस्या समाधान गर्न सरकारले मुख्यतः भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तबासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिनु आवश्यक हुन्छ’, चन्दको विज्ञप्तीमा भनिएको छ, ‘यसप्रकारको महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा सरकारले स्वयंसेवकहरू परिचालन गर्ने व्यवस्था गर्नु आवश्यक हुन्छ । यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा हाम्रो पार्टी सहयोग गर्न तयार रहेको पनि अवगत गराउन चाहन्छु ।’

उनले आफ्नो पार्टीका सम्पूर्ण समितिहरू, विभित्र स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजिवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायमा समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग जुध्न होसियारीपूर्वक सामाजिक स्तरमा स्वयंसेवकका रूपमा परिचालित हुन र महामारी नियन्त्रणमा सहयोग गर्न अपिल गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij