वेबटिभी खबर
दमौली । तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास (होमस्टे) आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेका छन् । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।
कोभिड-१९ को जोखिम घटेपछि बन्दीपुरमा सञ्चालित सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढेको बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी रानाले बताए ।
‘कोभिड-१९ को संक्रमणका कारण लामो समय बन्दीपुरको पर्यटन ठप्पै भयो,’ उनले भने, ‘अहिले जनजीवन सामान्य बनेपछि बन्दीपुर घुम्न आउनेको संख्या क्रमश बढिरहेको छ ।’ बन्दीपुर आउने अधिकांश पर्यटक घरबासमा बस्न रूचाउने गरेको उनले बताए ।
अन्य दिनको तुलनामा शुक्रबार र शनिबार घरबासमा बस्न आउने पर्यटकको संख्या बढी हुने गरेको हो । ‘ती दिनमा हामीलाई पाहुना स्वागत गर्न भ्याइनभ्याइ हुन्छ, उनीहरूको स्वागतार्थ पूर्वतयारी गर्नुपर्ने पनि हुन्छ’ रानाले भने ।
उनका अनुसार एकदिन मात्रै घरबासमा बस्ने गरेर आएका पर्यटक एकदिन मात्रै नभइ दोस्रो दिन पनि बस्ने गरेका छन् । ‘एक दिन मात्रै बस्दा रहर पुगेन भनेर अर्को दिन पनि बस्नुहुने पर्यटकको संख्या पनि धेरै नै छ,’ उनले भने ।
घरबासमा बस्ने पर्यटकलाई बेलुकाको समयमा स्वागत र जाने बेलामा बिदाइ गर्ने गरिएको छ । ‘घरबासमा बस्दा पाहुनाहरूले पारिवारिक वातावरणमा बसेको जस्तो अनुभूति भएको हामीलाई प्रतिक्रिया दिनुहुन्छ, होटलमा बस्दा त्यस्तो अनुभव गर्न सायद पाउनुहुँदैन,’ उनले भने ।
बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजु बानियाँका अनुसार पर्यटकीय मौसमका बेलामा घरबासमा थेग्नै नसकिने भीड हुने गरेको छ । बेमौसममा पनि समूह-समूहमा पाहुना आउने गरेको उनको भनाइ छ ।
यहाँ बन्दीपुर सामुदायिक घरबास, मोहोरिया घरबास र विन्ध्यावासिनी घरबास सञ्चालनमा छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा सञ्चालित घरबासले पर्यटक आकर्षित गरेको बताए । बन्दीपुर गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य पनि हो ।
यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु हुन् ।
कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यकोरूपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर दूरीको डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि पर्यटकीय बन्दीपुर पुगिन्छ ।
१८औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले भक्तपुरे शैलीमा घर र ढुंगा विछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।
बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेलीशैली झल्किने गरी घर बनाउन निषेध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij