वेबटिभी खबर
चितवन । आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रंगाशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो ।
बजेटमा काठमाडौंबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी द्रुत मार्ग निर्माण गरिने उल्लेख छ । चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गरिने बताइएको छ ।
यस्तै चितवन-रामपुर-बुटवल र चितवन-रामपुर-पोखरा द्रुतमार्ग निधि क्षेत्रको लगानीमा निर्माण गर्न लगानीबोर्डमार्फत प्रक्रिया अघि बढाईने उल्लेख छ । यस्तै पथलैया-हेटौंडा-नारायणगढ सडक विस्तार गरिने बजेटमा उल्लेख गरिएको छ ।
नागढुंगा-नौबीसे-मुग्लिन र मुग्लिन-पोखरासम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । यो दुई सडक खण्डको चितवन हुँदै जाने सडक हुन् । बजेटमा नारायणगढस्थित नारायणी नदीमा बहुउद्देश्यीय सिग्नेचर पुल निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।
चितवनको रामपुरमा निर्माणा रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको काम पूरा गरिने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको उक्त रंगाशाला बजेट अभाव भएपछि निर्माण कार्य रोकिएको थियो ।
बजेटमा प्रदेश र स्थानीय तहको साझेदारीमा रंगाशालाको काम अघि बढाउने उल्लेख गरिएको छ । नारायणी नदीमा सहरी करिडोरकारूपमा तटबन्ध निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।
नदीको वहाव नियन्त्रणको कार्ययोजना बनाइ कटान र डुबान नियन्त्रण गरिने जनाएको छ । चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।
अर्थमन्त्री शर्माले चितवनको शक्तिखोरलगायतका सम्भावित क्षेत्रमा निजी-साझेदारी अवधारणाअन्तर्गत औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्ने बताएका हुन् ।
चितवनमा निर्माण गरिने शिक्षक अस्पतालका लागि पनि बजेट विनियोजन भएको छ । भरतपुर महानगरपालिका वडा नं-१५ भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने यसअघि नै सरकारले निर्णय गरिसकेको थियो ।
बजेटमा अमलेखगञ्जदेखि चितवनको भण्डारासम्म पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण गर्ने उल्लेख छ । सरकारले भण्डारामा यसअघि नै जग्गा अधिग्रहण गरिसकेको छ ।
पूर्वी चितवनको कठारमा रिक्रियसन सेन्टर निर्माण गर्ने बजेट वक्तव्यमार्फत उल्लेख छ । भरतपुरको शारदानगर खानेपानी आयोजनालाई एक वर्षभित्र सम्पन्न गर्ने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij