वेबटिभी खबर
वाशिंटन । अमेरिकाले अक्सफाेर्ड-एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोप विश्वका अन्य देशलाई सहयोग गर्ने भएको छ । ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले खोपसम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको हो ।
विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ । विश्वभरि एस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो खोपलाई भने अझै पनि स्वीकृति दिएको छैन । अमेरिकामा फाइजर, माेडर्ना र जाेन्सन एन्ड जाेन्सनकाे खाेपलाई अनुमति दिइएकाे छ ।
विश्वका कतिपय देश र संघसंस्थाहरुले अमेरिकाले ठूलो संख्यामा खोप राखेको बताइएको छ । यसकारण पनि अमेरिकाको आलोचना भइरेहको बताइएको छ । उता अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले एस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभएको बताएका छन् ।
अघिल्लो महिनामा मात्र राष्ट्रपति बाइडेनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा एस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए । यी दुई देशले भने एस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् ।
अमेरिकाका छिमेकी देशहरु क्यानडा र मेक्सिको तथा अन्य दर्जनौं देशले पनि अमेरिकी खोपको आपूर्तिमा पहुँच पाइयोस भनेर अनुरोध पनि गरिरहेका छन् ।
यस्तै, भारतमा कोरोना महामारीका कारण स्वास्थ्य उपकरण अभाव भएपछि सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा छलफल गरे । त्यसपश्चात जारी विज्ञप्तिमा व्हाइट हाउसले अक्सिजन आपूर्ति, खोप, र अक्सिजन आपूर्तिका लागि आवश्यक पर्ने उपकरण भारतलाई आपतकालीन सहायताको रूपमा पठाउने उल्लेख गरेको छ ।
अमेरिकाले चाँडोभन्दा चाँडो मेडिकल अक्सिजन, कोभिड १९ टेस्ट किट, पिपिई किट र रेमेडिभिर औषधि भारत पठाउन कोशिस गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij