वेबटिभी खबर
काठमाडौं । देशभित्रै रासायनिक मल उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरण र एक अन्तर्राष्ट्रिय संस्थाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायत क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्रयाङ्क रिज्सबरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने छन् ।
नेपालको जलविद्युत् आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमूना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री भुसालले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताइन् । ‘देशभित्र खपत गरी बाँकी रहेको अतिरिक्त ऊर्जा खपतका लागि यो महत्वपूर्ण परियोजना बन्न सक्छ’, उनले भनिन् ।
‘यस्तो महत्वपूर्ण परियोजना अगाडि बढाउन सकिएमा देशभित्रको जलविद्युतबाट उत्पादित हरित ऊर्जा खपतका लागि महत्वपूर्ण योगदान पुग्ने छ, यसले ऊर्जा खपतको नयाँ ढोका खोल्ने छ ।’ मन्त्री भुसालले दुई संस्थाबीच भएको समझदारीमा उल्लेखित व्यवस्था इमान्दारीपूर्वक कार्यान्वयन गरी सफलताको चरणमा पुर्याउन आग्रह गरिन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij