वेबटिभी खबर
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगंगाको वडा नं-१ बेग, वडा नं-२ भगवती, वडा नं-५ झिँ, वडा नं-६ पाखापानी र वडा नं-८ कुइनेमंगलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको हो ।
हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित पाँच ब्लक बनाएर गाउँपालिकाबाट सामूहिक आलुखेती कार्यक्रमलाई कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सबिना शर्माले जानकारी दिइन् ।
गाउँपालिकाको ३० लाख र कृषक समूहबाट ३० लाख बराबरको श्रमदानसहित ६० लाख लागत अनुमानको बजेटबाट रघुगंगामा आलुखेती लगाउने अभियान सञ्चालन गरिएको छ । सामूहिक आलुखेतीलाई प्रभावकारी बनाउन एक ब्लकमा १२ लाखको कार्यक्रमअन्तर्गत गाउँपालिकाको ६ लाख र कृषक समूहको ६ लाखसहितको योजनाअनुसार आलु ब्लक कार्यान्वयन गरिएको कृषि शाखाले जनाएको हो ।
निर्वाहमुखी कृषिका माध्येमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरूपमा अघि बढाउन आलु ब्लक खेती विस्तार गरिएको कृषि शाखा संयोजक शर्माले बताए ।
उक्त कार्यक्रमअन्तर्गत रघुगंगा-२ रिसिन चौतारीस्थित बरखर्क कृषि समूहमा आबद्ध २४ कृषकले सामूहिकरूपमा २०० रोपनी जग्गामा आलुखेती गरेका छन् । समूहमा आबद्ध सदस्यले सामूहिकरूपमा खेती लगाएका हुन् ।
गाउँमा निर्वाहमुखी खेतीमा सीमित रहेको जमिनलाई भाडामा लिएर गाउँपालिकाबाट मिनिटेलर र प्राविधिक सहयोगमा कृषक समूहको सक्रियतामा २०० रोपनी जग्गामा आलु विस्तार गरिएको बरखर्क कृषक समूहकी कोषाध्यक्ष देवी कटुवालले बताए ।
‘कृषक समूहबाट ६५ रोपनीमा र समूहमा आबद्ध कृषकले व्यक्तिगतरूपमा १३५ रोपनी जग्गामा आलु लगाएका छौं, यसले यस क्षेत्रलाई आलु पकेट क्षेत्रको रूपमा विकास गर्न सघाउने विश्वास लिएका छौं’, उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij