वेबटिभी खबर
नेपालगञ्ज । कोहलपुर नगरपालिकाले पक्की घर बनाइदिए पछि त्यहाँका अल्पसंख्यक गन्धर्व तथा विपन्न दलित परिवार खुसी भएका छन् । कोहलपुरको लोकनगरमा नगरपालिकाले बनाइ दिएको घरमा बस्दै आएकी कल्पना गन्धर्वले जीवनभरिको सपना पूरा भएको बताइन् ।
‘नगरपालिकाले घर बनाइ दिएकोमा हामी अहिले धेरै खुसी छौं’, उनले भनिन् ,‘डुडुवा नालाले घरखेत सबै लगेपछि हाम्रो सम्पति केही थिएन,तर अहिले नगरपालिकाले घर दिएको छ ।’
सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा रहेका घरबासविहीन अल्पसंख्यक गन्धर्व, वादी तथा विपन्न दलित समुदायको लागि २० घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार, सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर-११ लोकनगरमा १७ घर गन्धर्व, दुई घर वादी र एक घर एकल अपांगता दलित महिला गरी २० जनालाई घर हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख रावतले अल्पसंख्यक गन्धर्व र विपन्न दलित परिवालाई सधैँको लागि स्थायित्व प्रदान गर्ने गरी आवास हस्तान्तरण गरिएको बताए । गन्धर्व र विपन्न दलित परिवारका लागि आयआर्जनको निम्ति पनि नगरपालिकाले कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको उनको भनाइ छ ।
नगरपालिकाले २ करोडको लगानीमा २० भवन निर्माण गरेर अल्पसंख्यक गन्धर्व र विपन्न दलित परिवालाई हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । शौचालयसहित निर्माण गरिएको यो सामूहिक आवास अन्य पालिकामा भन्दा नमूना भएको उनले दाबी गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij