वेबटिभी खबर
काठमाडौं । ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवं दर्शनार्थीको भीडभाडलाई मध्येनजर गरी सहज आवतजावतका लागि ट्राफिक व्यवस्थापन मिलाएको हो ।
महाशाखाले विभिन्न नाका हुँदै पशुपति मन्दिरभित्र प्रवेश गर्ने भक्तजनका लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको छ । टाढा-टाढाबाट पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भएकाले भक्तजनको सुविधाका लागि महाशाखाले उक्त व्यवस्था मिलाएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतोपुल, गौरी घाटबाट गौशालातर्फ जाने सवारीसाधनमा प्रवेश निषेध गरिएको छ ।
पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनका लागि सिफलचौर, गुह्येश्वरीपारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तिलगंगा करिडोरमा पर्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । भक्तजन तथा सवारी साधनको चाप हेरेर विभिन्न नाकाबाट आवश्यकता अनुसार डाइभर्सन गर्नुका साथै प्रवेशमा रोक लगाइने भएको छ ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले गौशाला चोकमा भीडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातो पुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जयबागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधन उक्त खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइने बताए । महाशिबरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महाशाखाले ८ सय भन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने जनाएको छ ।
महाशाखाले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चावहिल, गौशाला, तिलगंगा हुँदै अन्य स्थानमा जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij