वेबटिभी खबर
चितवन । खानेपानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएसँगै घण्टौं लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।
१ करोड ५० लाखको लागतमा निर्माण गरिएको उक्त योजनाको मंगलबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका-२९ ढोडेनीमा निर्माण गरिएको योजनाको महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरेका थिए ।
संघीय सरकारको १ करोड, भरतपुर महानगरको ३५ लाखको लागतमा जनसहभागितामा निर्माण गरिएको योजनाबाट ८३ परिवार लाभान्वित भएका छन् । सोही वडामा चौकीडाँडा खानेपानी योजनासमेत निर्माणको अन्तिम चरणमा छ ।
महानगर प्रमुख दाहालले वडा नं २९ को खानेपानी समस्या अब सधैंका लागि अन्त्य भएको भन्दै खुसी व्यक्त गरिन् । उनले ढोडेनी र चौकीडाँडा खानेपानी योजनाबाट वडावासी लाभान्वित भएको बताइन् ।
यसअघि त्यहाँका स्थानीयवासी ५०० मिटर तलको खोलामा पानी लिन जान बाध्य थिए । गाउँमा बारीमा तरकारी लगाउन पनि सम्भव थिएन । अहिले ५०० मिटर तल खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्यांकीमा तानेर घरघरमा वितरण गरिएको छ ।
भरतपुर महानगरपालिका-२९ का वडाध्यक्ष मानबहादुर रानाले बिहानभरि लगाएर खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको बताए । उनले भने, ‘पानी अभावमा बारीमा तरकारी लगाउन समस्या भएको थियो, अब त्यो हट्ने भयो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij