वेबटिभी खबर
फुङ्लिङ । निरन्तरको हिमपातका कारण चर्न गएका याक चौरी नभेटिदा फक्ताङलुङ गाउँपालिका-७ का किसान चिन्तित भएका छन् । याङमागाउँ निवासी साङ्बु शेर्पाले आफ्ना याकहरु देख्न नपाएर दिनरात पिररोलिरहेको बताउछन् ।
शेर्पाको पुर्खेउली पेशा नै याक गोठ हो । ७० वटा याक शेर्पाले हेर्दै आएका थिए । अहिले प्रायः प्रत्येक दिन हिमपात भइरहेको छ । याङमा गाउँ ताप्लेजुङ जिल्लाकै उच्च स्थानको बस्ती हो । समुद्र सतहदेखि ४ हजार ४ सय मिटर उचाइमा अवस्थित सो बस्तीमा प्रायः हिमपात भइरहन्छ । अहिले याङमामा हिउँले भरिएको छ ।
हिमपातमा याक जोगाउन भदौ र असोजमै घाँस काटेर घाममा सुकाएर जोहो गरी राख्नु पर्दछ । विगत वर्षभन्दा यस वर्ष निरन्तर हिमपात भइरहेको छ । निरन्तर हिमपात हुँदा शेर्पाले जोहो गरेर राखेको घाँस पनि सकिएको छ ।
चरन क्षेत्रमा हिउँले सबै पुरिएकाले कतै घाँस छैन । याक भोकभोकै हिउँमा फसेका छन् । याकको सा-साना बाछा गोठभित्र राखिएको छ । बाछालाई पनि जाडोबाट जोगाउन समस्या हुने गरेको शेर्पाले बताए ।
साङ्बु शेर्पाको मात्रै होइन, याङमा बासिन्दाकै पीडा उस्तै छ । विगत वर्षभन्दा यस वर्ष अलिक धेरै हिमपात भएका कारण हिमापातले हिमाली क्षेत्रको जनजीवनसँगै पशुचौपायलाई समेत निकै असर पारेको छ ।
चरन क्षेत्र हिउँले छोपिएसँगै याक भोकभोकै भएको याकपालक याङ्डे शेर्पाले बताए । उनकाअनुसार जोहो गरेको घाँस पनि सकेकाले याकलाई जोगाउन मुस्किल भएको छ । गोठमा भएको याक कहाँ-कहाँ छन् भनेर आफूले खोज्न नपाउँदा चिन्ताले सताएको उनले जानकारी दिए ।
विगतका वर्षहरूमा हिमपहिराले र हिउँमा फसेर धेरै याक मरेको गोलाङचुङ गोलाका याक किसान तेन्जिङ शेर्पाले बताए । ठाउँ-ठाउँमा अहिले पनि हिमपहिरोको क्रम चलिरहेता पनि क्षति भने नभएको उनको भनाइ थियो । एउटा याक ५० हजारदेखि १ लाख पर्दछ । हिमपहिरो र हिउँमा फसेर भोकले मर्यो भने किसानलाई ठूलो आर्थिक क्षति हुने किसान बताउछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij