मिलन दाहाल
काठमाडौं । बढ्दो कोरोना संक्रमणका कारण शैक्षिक क्षेत्र फेरि अस्तव्यस्त बनेको छ । कोरोना संक्रमणको पहिलो लहरबाटै प्रभावित शैक्षिक क्षेत्र त्यसयता राम्रोसँग चल्न सकेको छैन । केही महिनायता भौतिक रूपमा खुलेका शैक्षिक संस्था कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनको फैलावटसँगै फेरि बन्द भएका हुन् ।
विद्यालय बन्द भएका छन भने विश्वविद्यालयहरूले चल्दा चल्दैको परीक्षाहरू स्थागित गरेका छन् । ट्युसन कक्षा, शैक्षिक परामर्श केन्द्रलगायत सबै शैक्षिक क्षेत्र नै ठप्प बनेको छ । चालु वर्षको शैक्षिक सत्र सुरु भएदेखि विद्यार्थीहरूले मुश्किलले तीन महीनाभन्दा बढी भौतिक उपस्थितिमा पढ्न पाएका छैनन् ।
गत वैशाख महीनादेखि सुरु हुनपर्ने शैक्षिक सत्र कोरोना महामारीकै कारण साउनमा सुरु भएको थियो । साउनबाट शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीहरूले भौतिक रूपमा तिहारपछि मात्रै पढ्न थालेका हुन् । शिक्षा मन्त्रालय र स्थानीय तहहरूले तिहारपछि भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि मात्रै विद्यालयमा पढाइ सुरु भएको थियो ।
गत वर्ष नै कोरोना महामारीका कारण भर्चुअल प्रणालीबाट पठनपाठन सुरू भएको थियो । तर, विगतका अनुभवले वैकल्पिक पठनपाठन प्रभावकारी नभएको पुष्टि गरिसकेको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेपछि शिक्षा मन्त्रालयले गत पुस २७ गतेदेखि लागू हुनेगरी माघ १५ गतेसम्मका लागि देशभरका आधारभूत तथा माध्यमिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो । अहिले दैनिक रूपमा देखिएको कोरोना संक्रमितको संख्यालाई हेर्दा माघ १५ पछि पनि विद्यालय भौतिक रूपमा सञ्चालन हुने देखिंदैन ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयले पनि अर्काे सूचना जारी नहुँदासम्मको लागि पूर्वनिर्धारित एवम् सञ्चालनमा रहेका सबै परीक्षाहरू बन्द गरिसकेको छ । त्रिविले गत बिहीबार सूचना जारी गरेर सञ्चालिनमा रहेका र पूर्वनिर्धारण गरेका वार्षिक तथा सेमेस्टरका परीक्षाहरू स्थगित गरेको हो ।
त्यस्तै लोक सेवा आयोग र पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षाहरू स्थगित गरेको छ । कोरोना महामारीका कारण करिब तीन वर्षदेखि शैक्षिक क्षेत्र अस्तव्यस्त बन्दै आएको छ । कोरोना महामारीका कारण घर बस्नुपर्दा विद्यार्थीहरूको शैक्षिक स्तरमा समेत ह्रास आएको शिक्षकहरू बताउँछन् ।
सीसीएमसीको निर्णय अनुसार जान्छौँ : प्रवक्ता शर्मा
माघ १५ गतेपछि विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने विषयमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको निर्णय बमोजिम अघि बढ्ने शिक्षा विज्ञान मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भने, ‘अहिले नै कुनै निर्णय गर्न सक्ने अवस्था छैन, सीसीएमसीले जुन निर्णय गर्छ सोही अनुसार अघि बढ्छौँ ।’ अहिले पनि सीसीएमसीकै निर्देशनअनुसार विद्यालय बन्द गरेकाले १५ गतेपछि के गर्ने भन्ने पनि सीसीएमसीकै निर्णयबमोजिम हुने शर्माको भनाइ छ ।
परिस्थिति हेरेर निर्णय गछौँ : प्रमुख थपलिया
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रमुख रामप्रसाद थपलियाले माघ १५ पछि विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा कोराना संक्रमणको परिस्थितिलाई हेरेर निर्णय गर्ने बताए । उनका अनुसार अहिले नै त्यस विषयमा केही भन्न सकिने अवस्था छैन । सम्बन्धित निकाय र व्यक्तिहरूसँग आवश्यक छलफल गरेर निर्णय गरिने उनको भनाइ छ ।
बालबालिकाहरूलाई खोप लगाउनको लागि माघ १५ पछि चार दिन विद्यालय खोल्ने निर्णय भए पनि भौतिक रूपमा पढाई गर्नको लागि भने आवश्यक छलफल गरेपछि मात्र निर्णय आउने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij