वेबटिभी खबर
मङ्गलबारे । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनः हिमपात भएको छ । यसअघि यी ठाउँमा दुईपटक हिमपात भएको थियो । बिहीबार राति जिल्लाका अधिकांश स्थानमा पानी पर्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायतका धेरै ठाँउहरुमा हिमपात भएको छ ।
उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । यसबाट बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी, गैरीबास इलाम नगरपालिकाको पाटेनागी लगायतका स्थानमासमेत वर्षासहित हिमपात भएको छ ।
हिमपातले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेको स्थानका स्थानीयलाई घरबाट बाहिर निस्कन समस्या भएको र उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको स्थानीयवासी दिनेश ढकालको भनाइ छ ।
उनका अनुसार वर्षासहितको चिसोले घर बाहिरको काम गर्न समस्या भएको छ । तर जाडो बढे पनि पटकपटकको हिमपात र वर्षाले किसानलाई भने राहत मिलेको छ । यस सिजनमा वर्षा हुँदा उब्जनी बढ्ने किसानको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij