वेबटिभी खबर
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीले भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्विक एवम् ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् । उनले नगरपालिकाले शंखधर चोकमा निर्माण गरेको शंखधर पार्कका पुरातात्विक एवम् नवनिर्मित संरचनाको अवलोकन गरेका हुन् ।
उनलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर पार्कमा निर्माण भएका संरचनाबारेमा जानकारी गराए । फोहर फाल्ने डाँडो कसरी आकर्षक पार्कमा परिणत भयो भन्नेबारेमा जानकारी गराउँदै उनले गुरुयोजना, अब बन्ने शंखधर साख्वाःको सालिक, शंखधरलगायतका संरचनाका विषयमा बताए ।
शंखधर पार्कमा निर्माण भएका ढुंगेधाराका बारेमा जानकारी लिँदै जोशीले जुनसुकै स्थानका ढुंगेधारासँग राजा भगिरथको कथासँग महादेव र गंगाको किस्सा जोडिएको बताए ।
उनले भने,‘राजा भगिरथले कैलाशमा गएर महादेवको तपस्या गर्दै पितृ उद्धारका कार्य गर्न बर मागेपछि महादेवले आफ्नो शीरबाट गंगा बहाएपछि झरनाको रुपमा पानी बग्यो र त्यही पानी जहाँ-जहाँ बगेर गयो त्यहाँ गंगाका रुपमा पुजियो ।’
जोशीले मध्यपुरथिमिको कला, संस्कृतिका साथै नेपालको महत्त्वपूर्ण कला संस्कृतिका बारेमा पनि चर्चा गरे ।
अवलोकनका क्रममा नगर प्रमुख श्रेष्ठसँगै मध्यपुरथिमिका पूर्व नगर प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि शंखधर पार्कको महत्त्व र मध्यपुरथिमिमा जनप्रतिनिधि आएपछि भएको सम्पदा संरक्षण तथा विकासका बारेमा जानकारी गराए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij