वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।
महामन्त्रीका उम्मेदवारको बिहीबार सुरु मतगणनामा थापाले ३०२३ र शर्माले १९८४ मत ल्याए । महामन्त्रीको प्रतिस्पर्धामा रहेका डा.प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा.मिनेन्द्र रिजालले ८०९ र डा.राजाराम कार्कीले १०६ मत ल्याए ।
निर्वाचन समितिले अन्तिम नतिजा सार्वजनिक गर्दै थापा र शर्मा विजयी भएकाे घाेषणा गरेकाे छ । महामन्त्रीमा विजयी दुबै युवाले महाधिवेशन प्रतिनिधिले उनीहरूप्रति देखाएकाे भराेसाका कारण जित हासिल गरेका हुन् । दुबै युवा जुन टिमबाट चुनावमा सहभागी भएका थिए त्याे टिमबाट सभापतिका प्रत्याशी पराजित भएका छन् ।
मतगणनाको सुरुदेखि नै थापा र शर्माले निरन्तर लिड गरेका थिए । थापा सभापतिका पराजित उम्मेदवार डा.शेखर कोइरालाको टिमबाट र शर्मा सभापतिमा तेस्रो मत ल्याएका प्रकाशमान सिंहको टिमबाट चुनावमा लडेका थिए ।
सभापतिमा विजयी शेरबहादुर देउवाको टिमबाट डा.प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बने पनि उनीहरुले तेस्रो र चौथो मत परिणाममा चित्त बुझाउनु पर्यो ।
त्यसैगरी कोइरालाको टिमका डा.रिजाल पाँचौं पोजिसनमा सीमित रहे । अन्य प्रतिस्पर्धीसँग फराकिलो मतअन्तरले विजयी थापा कांग्रेस वृत्तमा लोकप्रिय छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij