वेबटिभी खबर
काठमाडौं । कोभिड-१९ को प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने उपायहरूबारे छलफल गर्न काठमाडौंमा नव-उत्थान सम्मेलन सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भइरहेको सम्मेलनको बुधबार अर्थमन्त्री जनादर्न शर्माले उद्घाटन गरे । सम्मेलनको मूख्य थिम बदलिँदो परिस्थितिमा तीव्र र दिगो आर्थिक वृद्धिको बहस रहेको छ ।
सम्मेलनमा कोभिड-१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ विषयमा छलफल हुनेछ ।
बुधबार दिनभर चल्ने सम्मेलनमा अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के-के हुन सक्छन्, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान मात्र नभइ व्यवसायमा थप ऊर्जा भर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहने आयोजकले जनाएको छ ।
सम्मेलन पूर्वमहासंघका सम्बन्धित् समितिले यी विषयमा गहन छलफल गरी प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सम्मेलनका क्रममा आएका सुझावसमेत समावेश गरी समापन शत्रमा योजना आयोग र अर्थमन्त्रालयलाई बुझाइनेछ । साथै सम्बन्धित मन्त्रालय र निकायहरूमा पनि सम्मेलनबाट आएका सुझावहरू बुझाइने एफएनसीसीआईले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij