वेबटिभी खबर
एजेन्सी । अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा १४ र १७ वर्षीय दुई छात्रा साथै १६ वर्षीय छात्र रहेको बीबीसीले जनाएको छ । घाइते भएका मध्ये दुईजनाको शल्यक्रिया भइरहेको छ भने अरु ६ जनाको अवस्था स्थिर रहेको छ।
अन्धाधुन्ध गोली प्रहार गरेको अभियोगमा प्रहरीले १५ वर्षका छात्रलाई नियन्त्रणमा लिएको छ । उनले १५ देखि २० राउण्ड गोली प्रहार गरेको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सेमिअटोमेटिक ह्याण्डगनको प्रयोग भएको घटनामा पक्राउ परेका एक छात्र मात्रै संलग्न रहेको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन । स्थानीय समय अनुसार मंगलबार दिउँसो पौने १ बजेतिर अक्सफोर्ड हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली प्रहार गर्नु अघि ती छात्र कक्षाकोठामा नै रहेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij