वेबटिभी खबर
काठमाडौं । नेकपा (एमाले) को १०औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।
एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिताविपरीत भएको र प्रतिनिधि छनोटमा धाधली गरिए जस्तै यो पनि धाधलीको एउटा रुप भएको अध्यक्षका उम्मेदवार भीम रावलले प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफैँ आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ उनले भने ।
यसै सन्दर्भमा एमालेको महासचिवमा निर्विरोध निर्वाचित भएका शंकर पोखरेलले भने औपचारिक प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेद्वारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गरेको बताए ।
पर्चा बाँड्नु पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएकोसमेत बताउँदै उनले सञ्चारकर्मीसँग भनेका छन्, ‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । अध्यक्ष मण्डलको प्रस्तावलाई चुनौती गर्ने अधिकारी कसैलाई छैन । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले प्रचार गर्ने कमरेडहरूले पनि आफ्नो पक्षमा प्रचार गर्नु भएकै छ । अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै छ । कुनै अनौठो कुरा होइन ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij