बागलुङ । बरेङ गाउँपालिका-२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची फलाएका थिए । अलैँचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी रु.पाँच लाख कमाए । त्यसपछि विमल पौडेलले रु तीन लाख । विमल पौडेल समूहको अध्यक्षसमेत हुन् । अलैँचीले भाउ राम्रो पाएपछि किसानको कमाइ बढेको हो ।
अघिल्लो वर्ष प्रतिकिलो अलैँचीलाई जम्मा रु ६०० मा बेचेका किसानले यो वर्ष रु एक हजार १५० सम्म मूल्य पाएका हुन् । झण्डै दोब्बरले भाउ बढेपछि अलैँची किसान मक्ख छन् । बजारमा अलैँचीको माग बढेका कारण मूल्य बढेको किसान बताउँछन् । “गत वर्ष कम मूल्यमा अलैँची बेच्नुपर्दा किसान निराश हुनुपरेको थियो, अहिले भनेझैँ मूल्य पाएपछि किसान खुसी छन्”, समूहका अध्यक्ष पौडेलले भन्छन् । उनले गुणस्तरीय उत्पादन दिन सके अलैँचीको बजार राम्रो रहेको बताए ।
समूहले २०० रोपनी जग्गामा विगत छ वर्षदेखि अलैँचीको व्यावसायिक खेती गर्दै आएको छ । अलैँची बेचेर वार्षिक आउने आम्दानीलाई किसानले आफ्नो उत्पादन अनुसार बाँडेर लिन्छन् । समूहमा नरहेका किसानबाट पनि अलैँची सङ्कलन गरेर बजारसम्म पुर्याउन समूहले सहजीकरण गर्दै आएको छ । बरेङमै सबैभन्दा धेरै क्षेत्रफलमा अलैँची खेती गरेको उक्त समूहमा १९ जना किसान आबद्ध छन् । बसाइँसराइले गाउँका जग्गा बाँझो पल्टन थालेपछि गाउँले मिलेर अलैँची खेतीको योजना बनाएका थिए । समूहलाई अलैँची सुकाउने उपकरण खरिद, बगान विस्तारलगायतमा कृषि ज्ञान केन्द्र र गाउँपालिकाले अनुदान सहयोग दिएको छ ।
अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सदस्य केदार आचार्यले यो वर्ष उत्पादनमा ह्रास आएकाले अलैँचीको बजार मूल्य बढेको बताए । अलैँची निर्यात हुने प्रमुख देश भारतका व्यापारीले पनि बढी मूल्य तिरेरै भए पनि नेपालको अलैँची खरिद गर्न तयार भएको उनको भनाइ छ । “खडेरी, सिँदुरे रोग आदि कारणले यो वर्ष देशभर अलैँचीको उत्पादनमा गिरावट आयो, जसले गर्दा बजार माग बढी छ, किसानले राम्रै मूल्य पाउनुभएको छ”, आचार्यले भने । उनले जैमिनी नगरपालिका-१० राङखानीको २० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । त्यहाँ अलैँचीको नर्सरी पनि छ ।
राङखानीको आचार्य जैविक नमूना कृषि फार्मले गाउँभरिका किसानबाट अलैँची खरिद गरेर बजारीकरण गर्दै आएको छ । यो वर्ष ५० क्विन्टल अलैँची काठमाडौँ पुर्याएको फार्मका सञ्चालकसमेत रहेका आचार्यले बताए । काठमाडौँ हुँदै अलैँची भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पुर्याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij