Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता

ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता

  • 461
    SHARES
  • ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता

    बागलुङ । बागलुङको गलकोट नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरेको छ । ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो । 

    चाडपर्व खर्च वितरणको लागि प्रत्येक वडामा रकम निकासा भएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता अधिकारीले जानकारी दिइन् । नगर भित्रका ८५ बर्षमाथिका २०२ नागरिक छन् । नगरसभाले चाडपर्व भत्ताको लागि आठ लाख रुपैयाँ विनियोजन गरेको थियो । ८५ वर्षमाथिका १५ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरेको गल्कोट नगरपालिका–११ का वडा अध्यक्ष डम्मर श्रीसले जानकारी दिए । 

    गलकोट नगरपालिका-१ मा सबैभन्दा बढी ४६ जना र वडा-४ र ७ मा सबैभन्दा कम ११/११ जना छन् । शाखा प्रमुख अधिकारीका अनुसार वडा-२ मा १८, वडा-३ मा २३, वडा-६ मा २७, वडा-८ मा २२, वडा-९ मा १७, वडा-१० मा ३१ र वडा-११ मा २३ जना ज्येष्ठ नागरिक छन् ।  नगरपालिकाले विगत तीन वर्षदेखि ज्येष्ठ नागरिकलाई सम्मान तथा स्थानीय सरकारको अनुभूति हुने गरी चाडपर्व खर्च र सम्मानको कार्यक्रमलाई निरन्तरता दिएको मेयर भरत शर्मा गैरेले बताए ।

     सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकले पनि उक्त सुविधा पाउँछन् । स्थानीय सरकारले घरघरमा चाडपर्व भत्ता वितरण गरेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् । ‘आफ्नो गोजीमा दुई चार पैसा हुँदा बलियो अनुभव हुन्छ’, रिघाका ९७ वर्षीय पतिराम पुनले भने, ‘घरमै भत्ता पाउँदा सरकारले बुढाबुढीको सुरक्षा गर्छ कि भन्ने आशा पलाएको छ ।’ नगरका ११ वटै वडाले घरमै पुगेर भत्ता वितरण सुरु गरेका छन् । दसैँअघि प्राविधिक कारण रकम निकासा नहुँदा रकम वितरणको काम स्थिगित भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij