काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । शनिबार बिहान ८ बजे महामन्त्री कोइराला नेतृत्वको टोली भारत प्रस्थान गरेको हो। कांग्रेसको १४औं महाधिवेशन नजिकिएका बेला कोइरालाको भारत भ्रमण हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ। कोइराला आगामी महाधिवेशनमा सभापतिका आकांक्षी हुन्।
कोइरालाको टोली बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको छ। भैरहवाबाट महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई जाने छ ।
महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, कांग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि भारत गएका हुन् । तिवारीका अनुसार मुम्बईमा उपचाररत काँग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला भारत जान लागेका बताए ।
असोजको तेस्रो साता भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सहमहामन्त्री प्रकाशशरण महतको टोली पाँच दिने भारत भ्रमणको गरेर फर्किएको थियो ।
महामन्त्री कोइराला पनि भाजपाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएको बुझिएको छ । महामन्त्री कोइराला सोमबार नेपाल फर्कनेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij