वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो एमाले नेतृत्वको सरकारको आलोचना गर्नेहरू नै आज शेरबहादुर देउवाको सरकारप्रति अति उदार भएको तर्क गरेका छन् । सोमबार काठमाडौंस्थित राष्ट्रय सभागृहमा आयोजित एमोलेनिकट राष्ट्रिय युवा संघ, नेपालको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री रहेका ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि ओलीलाई प्रतिगमनकारी ठहर गर्दै साविक एमाले नेतृ रामकुमारी झाक्रीले माइतीघर मण्डलाको एक कार्यक्रममा, ‘बोल्न पाइन्छ । यो लोकतन्त्रमा बोल्न पाइन्छ,’ भन्दै ओली र राष्ट्रपति विद्यादेवी भण्डारीप्रति विरोध जनाएकी थिइन् ।
‘आफैं मुखमा टेप टाँसेर उक्काउँदै बोल्न पाइन्छ भन्नेहरूले नै अहिलेको सरकार बनाएका छन् । तर महाकाली नदीमा भारतीय पक्षले नेपाली नागरिक बेपत्ता पार्दा पनि यिनीहरू किन केही बोल्न सक्दैनन् ?,’ सोमबारको भेलामा ओलीले झाक्रीको सोही अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरे ।
नागरिक मारिँदा पनि सरकार चुइँक्क बोल्न नसक्ने यो कस्तो सरकार ? भन्दै ओलीले सरकारको कामकारबाहीप्रति संशय व्यक्त गरेका छन् । ‘यो सरकारले जनताको प्रशंसा पाउँदैन, गाली पाउँछ । तुइनबाट मान्छे खसालिन्छ यो सरकार किन केही बोल्दैन । एमालेले जस पाउँछ भनेर एमालेको सरकारले बनाएको सडक आयोजना रोक्ने ! भारतीय हेलिकप्टर नेपाली आकाशमा उड्छ किन यस्तो भयो ? भनेर भारतलाई सोध्न पनि नसक्ने यो कस्तो सरकार हो ?’ उनले भने, ‘हाम्रो पार्टीको सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाएको थियो । तर यिनीहरू किन समृद्धि भन्नेबित्तिकै झसंग हुन्छन् ?’
अहिलेको सरकारले नागरिकको बोल्न पाउने स्वतन्त्रतामा अंकुश लगाएको तर्क गरे । ‘युवा बोल्नेबित्तिकै विज्ञप्ति निकालेको यो सरकार निरंकुश सरकार हो । लठ्ठी हान्न, धाकधक्की लगाउन र नक्कली ठूला कुरा गर्न सिपालु यो सरकारले देश र जनताका हितमा कुनै काम गर्न सकेन,’ ओलीले भने, ‘अहिले सरकारमा गठबन्धन बनाउनेहरू अपराधका साक्षी बनेका छन् ।’ उनले नेपाल औषधीमय देश रहेको बताउँदै नेपालमा पाइने खानेपानी आफैंमा मिनिरल वाटर भएको उल्लेख गरे । ‘युवामा नलेज र टेक्नोलोजी ट्रान्सफर गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij