वेबटिभी खबर
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोको दाजु हुन् । पार्टी विभाजन भएपछि महतोको घर भएको चन्द्रनगरमै लोसपा कमजोर देखिएको छ ।
चन्द्रनगरमा ६ वटा वडामा जनता समाजवादी पार्टीले जितेको थियो । आफ्नै दाजु अध्यक्ष भएको गाउँपालिकाका ६ जनामध्ये २ जनाले मात्र लोसपाको पक्षमा सनाखत गरेका छन् ।
सोही प्रदेशमा राजेन्द्र महतोका भतिजा उपेन्द्र प्रदेश सांसद छन् । आफ्नै घर भएको, दाजु अध्यक्ष भएको र भतिज सांसद भएको क्षेत्रमा लोसपा कमजोर देखिनुले पार्टी विभाजनपछि राजेन्द्र महतो आफ्नै ठाउँमा अल्पमतमा परेको पुष्टि हुन्छ ।
६ मध्ये चारजना वडाध्यक्षले जसपाको पक्षमा सनाखत गरेको जसपाका नेता एवं सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेका प्रमोद साहले बताए । २ जनामात्र लोसापाको पक्षमा खुलेको उनले जानकारी दिए ।
राजेन्द्र महतो र महन्थ ठाकुरको गृहजिल्ला भए पनि सर्लाहीमा लोसपा कमजोर देखिएको छ । ठाकुर पक्षका जनप्रतिनिधि यथावत रहे पनि महतोलाई धेरैले छाडेका छन् । उनको एकलौटी व्यवहार, नातावाद प्रवृत्तिजस्ता कारणले उनीनिकट धेरैले उनलाई छाडेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij