वेबटिभी खबर
काठमाडौं । माधव नेपालले झेली कुरा गरेको भन्दै प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादी) बाट बिदा लिएको घोषणा गरेका छन् । पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका उनी नेकपा (एस) को सनाखतका लागि निर्वाचन आयोग पुगेका थिए । आफूले माधवसँग बारम्बारको कुराकानीमा जनताका बहुदलीय जनवादलाई पार्टीले अंगिाकार नगर्ने भए नाम नलेख्न भनेकोमा माधवले आफूलाई धोका दिएको भन्दै नेपालले सामाजिक सञ्जालमार्फत असन्तुष्टी पोखेका छन् ।
आफू सधैँ तानाशाही प्रवृत्तिको विरोधी भएको भन्दै उनले केपी ओलीसँग पनि नजाने स्पष्ट पारेका छन् । ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ’, नेता नेपालले लेखेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’
यसअघि पनि प्रदीप नेपालले माधव नेपाल र केपी ओलीसँग रहनेबारे ढुलमुले चरित्र प्रदशएन गरिसकेका छन् । ‘म कतै पनि छैन । माधव नेपालले आफ्नो पार्टीमा मेरो नाम हालेर मेरो व्यक्तिगत स्वतन्त्रता हनन् भयो,’ २ भदौमा प्रदीप नेपालले फेसबुकमार्फत भनेका थिए । त्यसको भोलिपल्ट उनले लेखेका थिए, ‘म माधव नेपालको मान्छे हुँ,’ लेखेका थिए ।
९ भदौमा दल दर्ताका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुगेर सनाखत गरेका थिए । बिरामी अवस्थाका उनलाई माधव नेपालनिकट विद्यार्थी नेता सुदेश पराजुलीले पाखुरा समाएर सहारा दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij