सर्लाही । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षक नै भक्षक बनेकाले संविधान र लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नु परेको बताएका छन् ।
सर्लाहीको हरिपुर नगरपालिका १ हजारबिघामा बिहीबार आयोजना गरिएको नेकपाका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार प्रतिगमनकारी बनेको आरोप लगाए ।
केपी ओली नेतृत्वको सरकारले संविधानमा भएका सकरात्मक र प्रगतिशिल कुरालाई हत्यागर्ने, लोकतन्त्रको हत्या गर्ने, निरंकुशता लाद्न खोजेको उनले बताए ।
केपी ओली प्रबृत्तिलाई परास्त गरि संविधान, लोकतन्त्र र गणतन्त्रको जित सुनिश्चित गर्न पहिलाको भन्दा थप दृढसंकल्पका साथ कयौं गुण बढी आन्दोलन गर्नु पर्ने आवश्यक्ता रहेको उनले औँल्याए ।
संविधानमा अझै केही कुरा नपुगेको उल्लेख गर्दै उनले राम्रो पक्षको रक्षा गर्दै अपुग रहेका कुरा परिमार्जन गर्न जरुरी छ । मधेशी, आदीवासी जनजाती, महिला, दलित तथा अल्पसंख्यक समुदायको हक अधिकारको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडी बढ्नुको कुनै बिकल्प नभएको उनले बताए ।
वाग्लेको गत माघ २१ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएकाे थियाे । कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ,स्थायी समिति सदस्य गिरीराजमणी पोखरेल, लिलामणी पोखरेल, जनता समाजवादी पार्टीका कार्यकारणी समिति सदस्य महेन्द्र राय यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij