वेबटिभी खबर
काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका-९, बसन्तपुरमा अज्ञात समूहले एक वृद्ध दम्पतीमाथि इँटा प्रहार गरी गम्भीर घाइते बनाएको छ । आक्रमणबाट ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह गम्भीर घाइते भएका छन्। आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराती अज्ञात समूहले इँटाले टाउको तथा अनुहारमा प्रहार गरी उनीहरूमाथि आक्रमण गरेको बताइएको छ।
स्थानीयका अनुसार किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिए । गएराति भएको उक्त घटनामा संलग्न समूहको पहिचान हुन सकेको छैन। आक्रमणको कारणसमेत अहिलेसम्म खुल्न नसकेको हरिपुर्वा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रमेश यादवले जानकारी दिए ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । वृद्ध दम्पतीमाथि आफ्नै घरमा भएको यस आक्रमणले स्थानीयवासी त्रसित बनेका छन् । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij