वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोनाको तेस्रो लहर अबको दुई सातापछि आउने स्वास्थ्य सम्बन्धी अनुसन्धाताले भविष्यवाणी गरेका छन् । दोस्रो लहर आउने भविष्यवाणी मिलाएका अनुसन्धाताले नै तेस्रो लहर पनि अगस्ट महिनाको दोस्रो वा तेस्रो साताभित्र आउने भविष्यवाणी गरेका हुन् ।
तर,तेस्रो लहर तुलनात्मक रुपमा कम जोखिमपूर्ण हुने पनि उनीहरुले बताएका छन् । दोस्रो लहरमा एक दिनमा संक्रमितको संख्या ४ लाखभन्दा बढी रहेको थियो । तर तेस्रो लहरमा दैनिक संक्रमितको संख्या १ लाखको वरिपरी रहने आकंलन गरिएको छ । स्थिति धेरै बिग्रन गए संक्रमितको संख्या डेढ लाखसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
अगस्टको दोस्रो वा तेस्रो साताबाट सुरु हुने तेस्रो लहरले संक्रमितको संख्या भने बढाउँछ । विशेषज्ञकाअनुसार तेस्रो लहरको सुरुवात हुने निश्चित रहेको र यसले अक्टुबरसम्म दैनिक संक्रमितको संख्या एकदेखि डेढ लाखसम्म पुग्नेछ । यस अवधिमा तेस्रो लहर उच्च बिन्दुमा पुग्छ ।
ब्लूमबर्गको रिपोर्टअनुसार कोरोना संक्रमणको तेस्रो लहरको ताजा भविष्यवाणी विशेषज्ञहरुले म्याथमेटिकल मोडलको आधारमा गरेका हुन् । रिसर्चमा आइआइटी हैदराबाद र कानपुरका मधुकुमल्ली विद्यासागर र मनिन्द्र अग्रवाल समावेश थिए । यी दुई विशेषज्ञले दोस्रो लहरलाई लिएर गरेको पूर्वाअनुमान मिलेको थियो ।
तेस्रो लहरमा कति संक्रमित हुन सक्छन् ? भन्ने प्रश्नमा विशेषज्ञले केरला, महाराष्ट्र र अन्य राज्यका संक्रमितको संख्यामा निर्भर रहने जनाएका छन् । तर दोस्रो लहरको दाँजोमा तेस्रो लहरमा स्थिति केही नियन्त्रित हुने विशेषज्ञको भनाइ छ ।
आइसीएमआर पनि भन्छ-तेस्रो लहर अगस्टमा आउँछ
यसभन्दा पहिले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले पनि कोरोना संक्रमणको तेस्रो लहर अगस्टमा आउने दाबी गरेको थियो । संस्थाका डा.समीरन पान्डाले कोरोनाको तेस्रो लहर अगस्टको अन्त्यतिर आउने जनाएका थिए । यसकासाथै उनले तेस्रो लहर कहिले आउँछ ? कति गम्भिर हुनसक्छ ? यी सबै कुरा तत्कालीन परिस्थितिमा भर पर्ने बताएका थिए ।
तेस्रो लहरसँग लड्न जनस्वास्थ्य मापदण्डको पालना
संक्रमणको तेस्रो लहरको जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्छ । जनस्वास्थ्यको मापदण्ड पलना गरे दैनिक संक्रमित निकै कम हुन सक्छन् । कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिले पनि तोकिएको मापदण्डलाई हुबहु पालना गर्नुपर्छ ।
नियमित मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाडमा नजाने, अनावश्यक हिडडुल बन्द गर्ने गर्नुपर्छ । त्यसैगरी कोरोनाका विभिन्न भेरियन्ट र लहरबाट जोगिन जतिसक्दो सबैले कोरोनाविरुद्धको खोप लगाउनुपर्छ । यसका लागि सरकारले सक्दो चाँडो सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको दायरामा समेट्नु पर्छ ।
नेपालमा पनि असर
भारतमा तेस्रो लहर आउँदा त्यसको असर नेपालमा पनि पर्छ । पहिलो र दोस्रो लहर भारतमा फैलिएलगत्तै नेपालमा पनि संक्रमितको संख्या बढेको थियो । खुला सीमा र भारतमा आउजाउ बाक्लै हुने भएकाले भारतमा संक्रमण बढ्दा त्यसको प्रभाव नेपाल पनि पर्ने गरेको छ ।
सामान्यतया भारतमा संक्रमण फैलिएको केही दिनपछि मात्र नेपालमा आएको उदाहरण छ । त्यसैले गर्दा नेपालमा पनि तेस्रो लहरको जोखिम हुन नदिन समयमै तयारी गर्नु जरुरी छ । हाल नेपालमा दैनिक झण्डै दुई लाखजनालाई खोप लगाउने काम भइरहेको छ । यो सकारात्म भए पनि कोरोना फैलिएको खण्डमा अस्पताल पाउने वा उपचार हुने सुनिश्चितता छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij