वेबटिभी खबर
काठमाडौं । ११ औं प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२ समापन भएको छ । शनिबार नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरे ।
२६३ औं सेना दिवसको अवसरमा नेपाली सेनाले ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन भएको थियो । म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई आजै क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।
हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमश : एक लाख, ७५ हजार र ५० हजार प्रदान गरिनेछ । सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दुरीको दौड आयोजना भयो ।
पाँच किमी दुरीको वाकाथनमा प्रधानसेनापति सिग्देललगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी भए । सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमी दूरीको दौड पूरा गरे । दश किमी र पाँच किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद प्रदान गरिने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij