वेबटिभी खबर
काठमाडाैं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायसन्सले आफ्नो प्लेअफ यात्रा सरक्षित गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सलाई चार विकेटको जित निकाल्दै लुम्बिनीले पहिलोपटक एनपिएलको प्लेअफमा स्थान बनाएको हो ।
योसँगै एनपिएल २०२५ को प्लेअफ समीकरण पूरा गरेको छ । यसपटक लुम्बिनीसहित गत संस्करण उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै जनकपुर बोल्ट्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्सले भने खेलबाट बाहिरिएका छन् । शुक्रबारको खेलमा जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान रोहित पौडेलले ३४, डार्सी सर्टले ३०, जेजे स्मितले २१, दिलिप नाथले अविजित १५ र निरोशन डिकवेलाले १७ रन जोडे ।
जनकपुरका लागि संगीत कोरेले तीन, मयन यादवले दुई तथा अनिलकुमार साहले एक विकेट लिए । त्यसअघि त्रिवि स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij