वेबटिभी खबर
न्यापित, म्यानमार । म्यानमारको सैन्य सरकारले कोरोना भाइरस संक्रमण र यसका कारण हुने मृत्युलाई नियन्त्रणका लागि सरकारले खास पहल नलिएको आरोप मानबअधिकारकर्मी तथा स्थानीयहरूले लगाएका छन् । कोरोना भाइरसका कारण म्यानमारमा मृत्यु दरमा उल्लेख्य बढी आएको भएपनि फेब्रुअरीमा निर्बाचित सरकारलाई नियन्त्रणमा लिएको सैन्य सरकारले महामारीको प्रयोग गरेर शक्ति सुदृढीकरण गर्न र विपक्षीलाई दबाउने गरेको आरोप उनीहरूले लगाएका हुन् ।
पछिल्लो सात दिनमा म्यानमारमा मृत्यु दर इन्डोनेसिया र मलेसियाभन्दा बढी रहेको पाइएको छ । पछिल्ला दिनमा दक्षिणपूर्व एशियामा म्यानमार नै महामारीका कारण सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको मुलुक बनेको छ । देशको स्वास्थ्य सेवा कोभिड-१९ संक्रमित बिरामीहरूका कारण पछिल्लो छोटो समयमा नै निकै प्रभावित बनेको छ । चिकित्सकीय सेवाका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति घट्दै गइरहेको र सरकारले धेरै ठाउँमा यसको निजी बिक्रीमा प्रतिबन्धित गरेको छ ।
सरकारनिकट समूहलाई सहयोगका लागि तथा सैन्य अस्पतालहरूमा आपूर्तिलाई केन्द्रित गरिएको यहाँ आन्दोलनरत दल तथा अधिकारबादी समूहले आरोप लगाएका छन् । यसैबीच अवज्ञा आन्दोलनलाई सहयोग पुर्याएको भन्दै सैन्य सरकारका गतिविधि स्वास्थ्यकर्मीहरूलाई निरूत्साहन गर्ने खालका भएको विपक्षी गठबन्धनको आरोप छ ।
विशेषज्ञ र निजामती कर्मचारीले राज्य प्रशासन परिषद्को नामले चिनिने सरकारी संयन्त्रलाई सहयोग नगरेको आरोप सेनाले लगाएको छ । संयुक्त राष्ट्र संघका पूर्व म्यानमार मानवाधिकार विज्ञ यान्घी लीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, ‘उनीहरू (सैन्य प्रशासन) ले व्यक्तिगत सुरक्षात्मक उपकरण र मास्क वितरण गर्न रोकेका छन् र लोकतन्त्रका लागि भएका आन्दोलनलाई समर्थन गरेका नागरिकलाई अस्पतालमा उपचारमा समेत असमान व्यवहार देखाएका छन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij